शेयर बजारमा सर्किट ब्रेक, कारोबार ४० मिनेटका लागि स्थगित

काठमाडौं, २० भदौ । आइतबार नेप्से परिसूचक ५.०३ प्रतिशत घटेसंगै ४० मिनेटको लागि कारोबार बन्द भएको छ ।

नेप्से सूचक १४७.३१ अंकले घटेको छ । यो हालसम्मकै सबै भन्दा उच्च अंकको गिरावट हो । यस अघि मंसिर २१ गते १२३ अंकले घटेको थियो ।

यो बेलासम्म बजार १४७.३१ अंकले घटेको छ। नेप्से परिसूचक २७७९.३१ को विन्दुमा झरेको छ। ७ अर्ब १९ करोड रुपैयाँ बढीको कारोबार भएको बजारमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४७ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यो बेलासम्म विकास बैंक र वित्त समूहमा ९ प्रतिशत बढीले ओरालो लागेका छन्। जलविद्युत, होटेल तथा पर्यटन र व्यापार समूह पनि ७ प्रतिशत बढीले घटेका छन्।

कारोबार सुरु भएको पहिलो घन्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनट र तेस्रो घण्टा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गर्दछ।

अब दिउँसो १ः४० कारोबार सुचारु हुनेछ। त्यसपछि पनि २ बजेसम्म बजार ६ प्रतिशतले घटेमा पूरै दिनका लागि कारोबार स्थगित हुन्छ।

नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति सार्वजनिक गरे यता निरन्तर ओरालो लागेको बजारले आज पनि सो यात्रा जारी राखेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक व्यक्तिले शेयर धितोमा एउटा बैंकबाट ४ करोड र अन्यबाट गरी कुल १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको थियो । शेयर कर्जामा कडाइ गरेको थियो । त्यसको प्रभाव बजारमा पर्दा निरन्तर गिरावट आएको हो ।

मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४०० अंकको गिरावट आइसकेको छ भने घट्ने क्रम रोकिएको छैन । निरन्तर बजार बजार घट्न थालेपछि लगानीकर्ता आत्तिन थालेका छन् । दैनिक बजार घटेपछि उनीहरुले घाटामै भए पनि सेयर बेच्न थालेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here