मित्र राष्ट्रको प्रतिष्ठामा आँच आउने गतिविधि गर्नेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं, २० भदौं । सरकारले मित्र राष्ट्रका प्रतिष्ठामा आँच आउने गतिविधि गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

आइतबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस निकाल्ने र पुत्ला जलाउनेमाथि कारबाही गर्ने चेतावनी दिएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै छिमेकी मित्र राष्ट्रका प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस निकाल्ने र पुत्ला जलाउनेमाथि कारबाही गर्ने चेतावनी दिएका हुन् ।

‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्न गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उछृंखल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले सबै मित्र राष्ट्रसँग सम्बन्ध प्रगाढ बनाउन चाहेको पनि गृहले जनाएको छ । मन्त्रालयले नेपाल सरकार सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहने भन्दै नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको बताएको छ ।

गृहले भनेको छ, ‘मित्र राष्ट्रहरुको स्वाभिमान र सम्मान आँच आउने कुनै क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ ।’

सरकारले मित्र राष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिँदै आएको पनि जिकिर गरेको छ। भविष्यमा पनि उत्पन्न हुने समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने गृहले जनाएको छ ।

गृहले मित्र राष्ट्रहरूसँग लक्षित हुने गतिविधि नियन्त्रण गर्ने पनि जनाएको छ । ‘मित्रराष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई सरकारले नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

यसअघि गत शुक्रबार माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले भारतको विरोधमा प्रदर्शन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here