‘पहाडकी रानी’ बन्दीपुरमा बन्याे बसपार्क, पर्यटन व्यावसायी खुसी

काठमाडाैं, ९ असार । तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारमा बसपार्क निर्माण गरेको छ ।

पहाडकी रानी उपनामले प्रख्याती कमाएको बन्दीपुरमा पर्यटकको बढ्दो आवागमनलाई मध्यनजर गदै गाउँपालिकाले सार्वजनिक जग्गाको अभाव भएकाले मासिक तीन हजार बुझाउने गरी १५ वर्षको लागि पाँच रोपनी जग्गा भाडामा लिएर बसपार्क निर्माण गरेको हो ।

दिन प्रतिदिन पर्यटकको भीड बढ्दै गएकाले पार्किङको लागि सहज बनाउन १५ वर्षको लागि पाँच रोपनी जग्गा भाडामा लिइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । ‘पार्किङको समस्याले पर्यटन व्यवसायलाई असर पर्छ भनी जग्गा हामीले माग राख्यौँ’, गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो, ‘जग्गावालाले पनि राम्रो ठानेर सस्तो भाडादरमा जग्गा दिनुभयो ।’

गाउँपालिकाले जग्गा भाडामा लिएर भए पनि बसपार्क निर्माण कार्य गरिदिए पछि बन्दीपुरका पर्यटन व्यवसायी खुशी भएका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष तथा तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइका अध्यक्ष वैश गुरुङले धेरै सवारीसाधन आउने हुँदा बसपार्कको समस्या भयो भनेर ट्राभल एजेन्सीबाट गुनासो आउने गरेकोमा बसपार्क निर्माण भएपछि खुशी लागेको बताए ।

बन्दीपुर बजारमा हाल एक निजी क्षेत्रबाट निर्माण गरिएको बसपार्क रहेको छ । सवारीसाधनको चाप बढी र साँघुरो पनि भएकाले बसपार्क निर्माण गर्नुपरेको गाउँपालिकाले जनाएको छ । बसपार्क निर्माणको गाउँपालिकाले रु २५ लाख बजेट निकास गरेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय शुकदेव लम्सालले जानकारी दिए । मोटरसाइकल जीपजस्ता साना खालको सवारीसाधन पार्किङको लागि टुँडिखेल नजिकैको स्थानमा अध्ययन भइरहेको पनि उनले बताए ।

दीर्घकालीनरुपमा पार्किङको समस्या सामाधान गर्न अर्को स्थान पनि अध्ययन गरिएको छ । यसैगरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभाका सदस्य कृष्णकुमार श्रेष्ठ किसानले रु ३० लाख बजेट विनियोजन गरेपछि पिप्ले बन्दीपुर सडकको मोड सुधारको काम भइराखेको छ ।

बन्दीपुरको मुख्य आर्कषणमा नेवारी कला र संस्कृति, दोहोरो लाइन मिलाएर बनाइएका प्यागोडाशैलीका कलात्मक घर, ढुङ्गा बिच्छाइएका बाटा, विभिन्न मठमन्दिर रहेका छन् । पर्यटकीय नगरी बन्दीपुरलाई गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटनको पहिलो गन्तव्यका रुपमा सूचीकृत गरेको छ ।

सूचीकृत गरेसँगै बन्दीपुर आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । वार्षिक झण्डै तीन लाख पर्यटक बन्दीपुरमा आउने गरेको बन्दीपुर गाउँपालिकाले जनाएको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here