औद्योगिक क्षेत्रमा लगानी बढ्यो, ५ महिनामा थपिए ७५ नयाँ उद्योग

जितेन्द्र खनाल

काठमाडौं, २१ भदौ । गएको ५ महिनामा ७५ वटा नयाँ उद्योग थपिएका छन् । उद्योग विभागको तथ्यांक अनुसार वैशाखयता मात्रै ७५ वटा नयाँ उद्योगमा लगानी प्रतिवद्धता आएको छ ।

विभिन्न ६ क्षेत्रको ७५ वटा उद्योगमा कुल ४७ अर्ब २६ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको कुरा विभागको तथ्यांकले देखाउछ ।

अघिल्लो वर्षको सोही समयलाई हेर्दा उद्योग क्षेत्रको लगानीको वृद्धि भएको छ । विभागको तथ्यांक अनुसार अघिल्लो वर्ष यही समयमा ५९ वटा उद्योगमा ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता आएको थियो । जसमा २ हजार ८६२ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका थिए ।

आधाभन्दा धेरै लगानी उत्पादनमूलक क्षेत्रमा

विभागको तथ्यांक अनुसार आधाभन्दा धेरै लगानी प्रतिवद्धता उत्पादनमूलक क्षेत्रमा आएको छ । यस समयमा उत्पादनमूलक क्षेत्रका ३५ वटा उद्योगमा लगानी प्रतिवद्धता आएको छ ।

जसमा कुल लगानी २२ अर्ब ६८ करोड रुपैयाँको रहेको छ भने ३ हजार ५१८ जनाले प्रत्यक्षमा रुपमा रोजगारी पाउनेछन् ।

दोस्रो धेरै लगानी प्रतिवद्धता आएको क्षेत्र पर्यटन हो । यस समयमा पर्यटन क्षेत्रका १२ वटा उद्योगमा ५ अर्ब ८१ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । जसले ८३९ जजालाई प्रत्यक्ष रुपमा रोजगारी दिनेछ ।

उर्जामूलक क्षेत्रका १० उद्योगमा १५ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । जसमा २६४ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् ।

त्यस्तै, सेवामूलक क्षेत्रमा ८, कृषि तथा वन पैदावार क्षेत्रमा ७ र सूचना प्रविधिमा आधारित क्षेत्रका ३ उद्योगमा लगानी प्रतिवद्धता आएका छन् ।

५ हजारभन्दा धेरैलाई रोजगारी

गएको ५ महिनामा खुलेका उद्योगमा ५ हजार ६ सयभन्दा धेरै मानिसले प्रत्यक्ष रोपमा रोजगारी पाउनेछन् । विभागको तथ्यांक अनुसार ७५ वटा उद्योगमा ५ हजार ६२८ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् ।

सबैभन्दा धेरै राजगारी सिर्जना गर्ने उद्योगमा उत्पादनमूलक क्षेत्रका उद्योग छन् । उत्पादनमूलक क्षेत्रका उद्योगमा मात्रै ३ हजार ५१८ जनाले रोजगारी पाउनेछन् ।

वैदेशिक लगानीका १२ उद्योग थपिए

गएको पाँच महिनामा वैदेशिक लगानी रहेका थप १२ उद्योगमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएका छन् । जसमा सबैभन्दा धेरै सेवामूलक क्षेत्रका ४ उद्योग रहेका छन् । जसमा ३५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

त्यस्तै, पर्यटन क्षेत्रका ३, सेवामूलक क्षेत्र र सूचना प्रविधिमा आधारित क्षेत्रका समान २र२ र कृषि तथा वन पैदावार क्षेत्रका १ उद्योगमा वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

वैदेशिक लगानीका १२ उद्योगमा कुल ७६९ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here