वर्षदिन पनि टिकेन राष्ट्र बैंकको नीति, टीआर कर्जाको अवधि घट्यो

काठमाडौं, २४ भदौं । नेपाल राष्ट्र बैंकले ट्रस्ट रिसिप्ट लोन (टीआर कर्जा) को अवधि घटाएको छ ।

बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गर्दै टीआर कर्जाको अवधि घटाएको हो । तरलता अभावका कारण ब्याज बढाउने दबाबमा बैंकर छन्। जसको कारण नै यो नीतिमा परिमार्जन गर्ने निर्णय गरेको हो ।

जसमा टीआर लोन १२० दिनको लागि दिनसक्ने यसअघिको व्यवस्थालाई परिमार्जन गर्दै अब ९० दिनको लागि मात्रै दिन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एक वर्षअघि यो नीति ल्याएको थियो ।

त्यस्तै राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले आयातकर्तालाई बैंकहरुले १८० दिनको लागि परिवत्र्य विदेशी मुद्रामा ऋण दिन पाउने व्यवस्थालाई घटाएर अब ९० दिनको लागि मात्रै ऋण दिने पाउन व्यवस्था गरेको छ ।

कोरोना अति प्रभावित ऋणीहरुलाई राहत

कोरोना अति प्रभावित ऋणीहरुलाई नेपाल राष्ट्र बैंकले ठूलो राहत दिएको छ । बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गर्दै २०७९ असार मसान्तसम्म तिर्नुपर्ने ऋण र ब्याज २ वर्ष भित्र तिरे हुने व्यवस्था गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले होटल, ट्राभल, ट्रेकिङ र हवाइ सेवा जस्ता वाह्य पर्यटकमा निर्भर व्यवसायीलाई कारोनाको प्रभाव मूल्यांकन गर्दै २ वर्षभित्र ऋण तिर्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

अब यी उद्योगहरुले २०७९ असार सान्तसम्म तिर्नुपर्ने साँवा तथा ब्याज दायित्व छुट्टै हिसाब राखी २ वर्षसम्म कम्तीमा चार किस्तामा तिरे हुने व्यवस्था गरेको हो ।

साथै, राष्ट्र बैंकले यस्तो ऋणको ब्याजलाई साँवामा जोड्न (पूँजीकरण) गर्न नपाउने व्यवस्था गरेको छ । बैंकहरुले यस्तो ऋणमा हर्जाना समेत लगाउन नपाउने भएका छन् ।

यसअघि राष्ट्र बैंकले कोरोना अति प्रभावित व्यवसायीको ऋण पुनर्तालिकीकरण गर्ने व्यवस्था गरेको थियो । बैंहरुले ऋण पुनर्तालिकीकरण गर्दा ब्याजलाई पनि साँवामा गणना गरी त्यसको पनि ब्याज लिन पाउने व्यवस्था थियो ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाले पर्यटन क्षेत्र अन्तर्गत होटल, ट्राभल, हवाइ व्यवसायीलाई ठूलो राहत पुग्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here