दोहोरो अंकले घट्यो शेयर बजार, यी हुन् धेरै मूल्य घट्ने ८ कम्पनी

काठमाडौं, ३ं० भदौ । शेयर बजारमा दोहोरो अंकको गिरावट बुधबार पनि कायमै रह्यो । बुधबार नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ अंकमा झरेको छ ।

सूचकसँगै कारोबार रकम पनि दिनदिनै घट्दै गएको छ । गतहप्ता औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा आज सवा ५ अर्बमा सीमित भएको छ ।

आज २२२ कम्पनीको ५ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बढीको १ करोड ५ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.९८ प्रतिशतले घटेको । यस्तै, विकास बैंक, निर्जीवन बीमा, हाइड्रोपावर र होटल समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबारमा आएका २२२ कम्पनीमध्ये जम्मा १८ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, सानिमा लाइफ इन्स्योरेन्स १७ करोड र आइसीएफसी फाइनान्स १५ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

उच्च अंकले घटेको बजारमा आज एनआइबीएल समृद्धि फण्ड १ का इकाईधनीले सबैभन्दा धेरै ६.८८ प्रतिशत गुमाएका छन् । यस्तै, हिमालयन ऊर्जा कम्पनीको ५.८३ प्रतिशत, गोर्खाज फाइनान्स ५.४१ प्रतिशत, रुरु जलविद्युत्, सिन्धु विकास बैंक, गुडविल फाइनान्स, नेपाल हाइड्रो डेभलपर र आइसीएफसी फाइनान्सको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

घट्दो बजारमा आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य भने सबैभन्दा धेरै ८.२३ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here