काठमाडौं, ३१ भदौ । बुद्धभूमि नेपाल हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयका लागि विक्री खुला गरेको साधरण शेयर (आइपीओ) बाँडफाँड गरेको छ ।
विहीबार आयोजना प्रभावितका लागि खुल्ला भएको ४ लाख कित्ता सर्वसाधारण आइपीओ बाँडफाँड गरिएको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जानकारी दिएको छ ।
विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार ४० हजार जनालाई समान १० कित्ताको लागि शेयर बाँडफाँड गरिएको छ ।
आयोजनाले प्रभावित नुवाकोटका स्थानीयवासीलाई जारी गरेको शेयरमा ४६ हजार ८५ जनाले आवेदन दिएका थिए ।
आवेदन दिएका मध्ये करिव ६ हजार ८५ जनाको हात खाली भएको छ । कम्पनीको आइपीओमा २८ करोड १९ लाख ६० हजार ५ सय बराबरको आवेदन परेको थियो ।
कम्पनीले साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि आइपीओ जारी गरेको थियो ।
कम्पनीले धितोपत्र बोर्डबाट १२ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । पहिलो चरणमा स्थानीयलाई ४ लाख कित्ता आइपीओ जारी गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि ८ लाख कित्ता सेयर जारी गर्नेछ ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले हाल नुवाकोटमा ४.९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट सम्बन्धि कम्पनीको र विक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिनेछ ।
लगानीकर्ताले बुद्धभूमि नेपाल हाइड्रोपावरको वेबसाइट मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै नतिजा हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट गएर १६ अंकको डिम्याट नम्बर हालेपछि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।





















