दुई महिनामै थपिए साढे ४९ अर्बको उद्योग, उत्पादनमूलक क्षेत्रमा आकर्षण

फाइलफोटो

जितेन्द्र खनाल

काठमाडौं, ३१ भदौ । औद्योगिक क्षेत्रको लगानी बढेको छ । उद्योग विभागको आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनाको तथ्यांक अनुसार औद्योगिक क्षेत्रको लगानी बढेको छ ।

विभागको तथ्यांक अनुसार गएको दुई महिनामा ४९ अर्ब ४२ करोड रुपैयाँ लगानीको ५३ वटा नयाँ उद्योग दर्ता भएका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको सेही समयको तुलनामा झण्डै ६ अर्ब बढी हो ।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०७७/७८ को पहिलो दुई महिनामा ४३ अर्ब ६३ करोड रुपैयाँ लगानीको ३३ वटा नयाँ उद्योग दर्ता भएका थियो ।

झण्डै आधा उद्योग उत्पादनमूलक क्षेत्रमा

विभागको तथ्यांक अनुसार गएको दुई महिनामा दर्ता भएका कुल उद्योगमध्ये झण्डै आधा उद्योग उत्पादनमूलक क्षेत्रका रहेका छन् ।

विभागको तथ्यांक अनुसार गएको दुई महिनामा उत्पादनमूलक क्षेत्रमा २४ वटा नयाँ उद्योगमा १९ अर्ब ९७ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

उर्जामूलक क्षेत्रका १२ उद्योगमा ९ उद्योगमा १२ अर्ब ७८ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकले देखाउछ ।

त्यस्तै, सेवामूलक र पर्यटन क्षेत्रका ७/७ वटा उद्योगमा क्रमश १३ अर्ब र २ अर्बको लगानी प्रतिवद्धता आएको छ भने, कृषि तथा वन पैदावर क्षेत्रका ४ उद्योगमा ६९ करोड र सूचना प्रविधिमा आधारित क्षेत्रको २ उद्योगमा २० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

साढे ४ हजारलाई रोजगारी

विभागको तथ्यांक अनुसार यस समयमा दर्ता भएका ५३ नयाँ उद्योगमा कुल ४ हजार ४६६ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् ।

सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्रमा उत्पादनमूलक क्षेत्र नै रहेको छ । विभागको तथ्यांक अनुसार उत्पादमूलक क्षेत्रको उद्योगमा मात्रै कुल ३ हजार १११ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् ।

त्यस्तै, धेरै रोजगारी सिर्जना गर्ने दोस्रो क्षेत्रमा पर्यटन क्षेत्र रहेको छ । गएको दुई महिनामा लगानी प्रतिवद्धता आएका पर्यटनमूलक क्षेत्रका ७ उद्योगमा ४५९ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् ।

वैदेशिक लगानीका १० उद्योग

गएको दुई महिनामा वैदेशिक लगानीका १० उद्योग थपिएका छन् । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दुई महिनामा पुर्ण रुपमा वैदेशिक लगानी रहेको १० उद्योगमा १ अर्ब ४५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा भने वैदेशिक लगानी घटेको हो । विभागको तथ्यांक अनुसार आ।व। को सोही समयमा पुर्ण रुपमा वैदेशिक लगानी रहेका १३ उद्योगमा २ अर्ब १० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

रोजगारी सिर्जनामा पनि चालु आर्थिक वर्षमा कमी आएको छ । आर्थिक वर्ष ०७७/७८ को पहिलो दुई महिनामा लगानी प्रतिवद्धता आएका विदेशी उद्योगमा ६ सय ६९ जनाले प्रत्यक्ष रोजगारी पाएकोमा चालु आर्थिक वर्षको सोही समयमा खुलेका उद्योगमा ५ सय ५९ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने विभागको तथ्यांकले देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here