‘रिभर फन बिच’ रिसोर्टमा जिपलाइन र स्काई साइक्लिङ बन्दै, डिसेम्बर भित्र सञ्चालनमा आउने

काठमाडौं, ३ असोज । ९ वर्षदेखि रिसोर्ट र र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएको ‘रिभर फन बिच’ रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको आफ्नै रिसोर्टसम्म पुग्ने गरी निर्माण गरिरहेको जिपलाइनको सत्तरी प्रतिशत काम सम्पन्न भएको छ।

‘५ सय मिटर लामो बन्ने जिपलाइनको ४ सय मिटर भाग त्रिशुली नदीमाथि पर्ने कारण झनै साहसिक र रोमाञ्चाक हुनेछ,’ रिभर फन बिच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शंकर अधिकारीले भने, ‘अधिकांश भाग नदीमाथि पर्ने यो जिपलाइन विश्वकै नमूना हुनेछ।’

१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरू हुने जिपलाइन युरोपियन स्ट्यान्डर्डसहित भारतीय कम्पनीको प्राविधिक सहयोगमा निर्माण भैरहेको अधिकारी बताउँछन्।

जिएल एयरक्राफ्ट रोप प्रयोग गरिने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए।

८५ मिटर स्काई रोप साइक्लिङ समेत त्रिशुली नदीमाथि निर्माण भैरहेको परियोजना डिजाइनर मुकेश अधिकरीले जानकारी दिए।

मिनी जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ। जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ‘रिभर फन क्याफे’ सञ्चालन गर्ने तयारी छ।

कफी बार, ककटेल, मकटेल, क्रन्चीलगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटमसहित क्याफे सञ्चालन गरिने बताइएको छ।

आगामी अंग्रेजी नयाँ वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जिपलाइन, क्याफे, स्काई साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ६ करोड ५० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here