दशैंका लागि आजदेखि नयाँ नोट साटन पाइने, यस्तो छ सटही व्यवस्था

काठमाडौं, ४ असोज । दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट नोटहरु साट्न सकिने केन्द्रीय बैंकका प्रवक्ता देव कुमार ढकालले क्लाउड पत्रिकालाई बताए ।

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गर्न लागेको छ । नागरिकले ५, १०, २०, ५० र १०० दरका एकरएक बण्डल (बिटा) नयाँ नोट सटही गर्न पाउँनेछन् ।

सर्वसाधारणका लागि खुल्ला हुने नोट सटहीका लागि बैंकले काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका क्षेत्रहरुका लागि सटही काउन्टर तोकेको हो ।

बुधबार एक सूचना जारी गर्दै बैंकले काठमाडौंमा राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरूबाट र उपत्यका बाहिर (मोफसल) मा सातवटै प्रदेश स्थित बैंकको आफ्नै प्रादेशिक कार्यालयहरु र वाणिज्य बैंकहरुले तोकेको शाखाहरूबाट समेत नोट साट्न पाइने जनाएको छ ।

कोभिड–१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै यसपटक सहज वातावरणमा सहज रुपमै सर्वसाधारणलाई नोट सटहीको सुविधा मिलाइएको समेत बैंकले जनाएको छ ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष भने कोरोनाका कारण वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण घटेकाले नयाँ नोट वितरण गर्न लागेको पछि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाहरुलाई भने नयाँ नोट उपलब्ध गराइसकेको छ । बैंकहरुले आफ्ना खास ग्राहकहरुलाई नयाँ नोट वितरण गर्न शुरु गरिसकेका छन् ।

अनावश्यक रुपमा नयाँ नोट नलिन र लिएका नोटहरु पनि हिफाजत गर्न, महामारीलाई ध्यानमा राख्दै भीडभाड नगर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here