काठमाडौं, ५ असोज । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
मंगलबार कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीलाई कारोबारको लागि एमकेजेसी (MKJC) सिम्बोल प्रदान गरेको छ ।
नेप्सेले कम्पनीको आइपीओलाई पहिलो कारोबारको लागि न्यूनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । कम्पनीको आइपीओ भोलि (बुधबार) बाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले साउन १४ गतेबाट साउन १९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँबराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको थियो ।
जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियो ।