विकास बैंकहरुले एक सातामै गरे साढे ५ अर्ब ऋण लगानी, निक्षेप संकलन सुस्त

काठमाडौं, ६ असोज । राष्ट्रियस्तरका विकास बैंकहरु कर्जा विस्तारमा आक्रमक बनेका छन् ।

डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साता (भदौ २६–असोज १ गते) मात्र विकास बैंकहरुले ५ अर्ब ५१ करोड ८० रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यो अघिल्लो साता (भदौ १९–२६ गते) कोभन्दा २ अर्बभन्दा बढी हो । अघिल्लो साता विकास बैंकहरुले ३ अर्ब १४ करोड ९९ लाख रुपैयाँ मात्र कर्जा लगानी गरेका थिए ।

तरलता अभावका बाबजूद विकास बैंकहरुले उल्लेख्य मात्रका ऋण लगानी गरेका हुन् । विकास बैंकहरुको निक्षेप संकलन भने निकै कम रहेको छ । भदौ अन्तिमसाता विकास बैंकहरुले संकलन गरेको निक्षेपको तुलनामा कर्जा दोब्बरभन्दा बढी हो ।

गत सातामा विकास बैंकहरुले जम्मा साढे २ अर्ब निक्षेप संकलन गरेका छन् । पछिल्लो एक साताको अवधिमा १५ वटा विकास बैंकहरुले २ अर्ब ४८ करोड रुपैयाँ निक्षेप थपेका हुन् ।

गत साता राष्ट्रिय स्तरका विकास बैंकहरुको निक्षेप संकल ०.५९ प्रतिशतले वृद्धि भएको छ भने कर्जा विस्तार १.४६ प्रतिशतले बढाउन सफल भएका छन् ।

यसैगरी सोही अवधिमा क्षेत्रीय स्तरका विकास बैंकको निक्षेप वृद्धि शून्य प्रतिशत रहेको छ भने कर्जा ०.४५ प्रतिशतले बढेको छ ।

डेभलपमेन्ट बैंकर एशोसिएसनका अनुसार हाल १८ वटा विकास बैंक सञ्चालनमा रहे पनि यहाँ १५ वटाको मात्रै तथ्यांक समावेश गरिएको छ । उक्त तथ्याकंमा विजनेश कर्पोरेट डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्याकं समावेश गरिएको छैन् ।

असोज १ गतेसम्म विकास बैंकहरुको कुल निक्षेप ४ खर्ब ५१ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४ खर्ब २ अर्ब ४० करोड ३९ लाख रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here