काठमाडौं, ७ असोज । आर्थिक वर्ष २०७८/ ७९ को पहिलो महिनामा मुलुकमा ७५ अर्ब ९६ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ
नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/ ७९ को १ महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स १८.१ प्रतिशतले घटेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३,८०० पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले वृद्धि भई ११,६२८ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८०.० प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १६.४ प्रतिशतले कमी आई रु.८५ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो ।