औद्योगिक क्षेत्रमा वैदेशिक लगानी घट्यो, रोजगारीमा पनि कमी

काठमाडौं, १४ असोज । औद्योगिक क्षेत्रमा भित्रिने वैदेशिक लगानीमा कमी आएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार गएको वैशाखयता १३ उद्योगमा १ अर्ब ७३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ ।

यो रकम अघिल्लो वर्षको सोही समयमा भित्रिएको वैदेशिक लगानीभन्दा झण्डै २ अर्ब कमी हो । गत वर्ष वैशाखदेखि असोज १४ गतेसम्म २७ वटा उद्योगमा ३ अर्ब २६ करोड रुपैयाँको वैदेशिक लगानी भित्रिएको थियो ।

रोजगारीमा पनि कमी

अघिल्लो वर्षको तुलनामा वैदेशिक लगानीको उद्योगले सिर्जना गर्ने रोजगारीमा पनि कमी आएको छ ।

अघिल्लो वर्ष २७ उद्योगमा १ हजार ४३ जनाले प्रत्यक्ष रोजगारी पाएकोमा अहिले १३ उद्योगमा ८२७ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको तथ्यांकले देखाउँछ ।

स्वदेशी लगानी भने बढ्यो

विभागको तथ्यांक अनुसार यस समयमा स्वदेशी लगानीको उद्योगमा भने वृद्धि भएको छ ।

वि.सं. २०७७ सालको वैशाखदेखि असोज १४ गतेसम्म ६९ उद्योगमा ५५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएकोमा यस वर्ष वैशाखयता मात्रै ६६ अर्ब ९४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

यस समयमा सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा उद्योग दर्ता भएका छन् । वैशाखयता उत्पादनमूलक क्षेत्रका ४२ उद्योगमा २४ अर्ब ४२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

झण्डै ४ हजारको रोजगारी बढ्यो

उद्योग विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष लगानी प्रतिवद्धता आएको उद्योगमा थप ४ हजारले रोजगारी पाउने छन् ।

अघिल्लो वर्ष ३ हजार ८६३ जनाले प्रत्यक्ष रोजगारी पाएकोमा यो वर्ष वैशाखयता लगानी प्रतिवद्धता आएका उद्योगमा मात्रै ७ हजार ३९३ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने विभागको तथ्यांकले देखाउछ ।

सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने उद्योगमा उत्पादनमूलक क्षेत्र रहेको छ । विभागको तथ्यांक अनुसार उत्पादनमूलक क्षेत्रका ४२ उद्योगले ४ हजार ९६ जनाको लागि प्रत्यक्ष रोजगारी प्रदान गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here