काठमाडौं, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशन आज शुक्रवारदेखि शुरू हुँदैछ ।
ललितपुरको गोदावरीमा शुरु हुने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले दिउसो साढे १२ बजे उद्घाटन गर्ने छन्।
महाधिवेशनका लागि सबै तयारी पूरा भइसकेको जनाएको एमालेले जनाएको छ। महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरू राजधानी काठमाडौंमा भेला भएका छन् ।
विधान महाधिबेशनका लागि ललितपुरको गोदावरीमा नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा गरिने छ।
केन्द्रलाई एमालेले महाधिवेशन स्थलका रुपमा रोजेको छ। ओलीले आफू प्रधानमन्त्री रहेकै बेला गत बैशाखमा उद्घाटन गरेका थिए।
३ हजार सिट क्षमताको सम्मेलन केन्द्रमा ६ हजार प्रतिनिधि सहभागी हुने छन्। जसमध्येका ३ हजार जना मुल हलमा बस्नेछन्।
बाँकी ३ हजारका लागि बस्न दाँया बायाँ र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने ठाउँ बनाइएको छ।
महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने जनाइएको छ ।
महाधिवेशन व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ सचिव र केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समितिले काम गरिरहेको छ ।
एमालेले आगामी मंसिरको दोस्रो हप्ता पार्टी नेतृत्व चयनका लागि दशौं राष्ट्रिय महाधिवेशन तय गरेको छ ।