एमाले विधान महाधिवेशनः वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी १५, स्थायी कमिटी ४५ सदस्यीय

काठमाडौं, १७ असोज । नेकपा एमालेमा १५ जना पदाधिकारी हुने भएका छन् ।

आइतबार ललितपुरको सनराइज केन्द्रमा जारी एमालेको विधान महाधिवेशनले पार्टीको पदाधिकारीको संख्या १५ राख्ने निर्णय गरेको हो ।

एमाले नेता विष्णु पौडेलले विधान महाधिवेशनबाट भएका निर्णयबारे जानकारी दिँदै पदाधिकारी संख्याबारे आएका विभिन्न सुझाव समेटेर १५ सदस्यीय बनाउने निर्णय भएको जानकारी दिए ।

उनले अध्यक्ष एक जना, वरिष्ठ उपाध्यक्षसहित ५ जना उपाध्यक्ष, महासचिव एक जना, उपमहासचिव एक जना, सचिव ७ जना रहने जानकारी दिए ।

उपत्यकामा विशेष प्रदेश कमिटी आधार अंक ५० सदस्यीय रहनेछन् ।

जिल्लामा आधार अंक ५० सदस्यीय, पालिका ५०, गाउँपालिका ५०, टोल कमिटी ३३, प्रारम्भिक कमिटी ३५ सदस्यीय आधार अंक तोकिएको छ। कमिटीको आकार ठूलो भएको भन्दै कमिटी चुस्त दुरुस्त हुनुपर्ने आवाज उठाएका थिए ।

कोषाध्यक्ष राख्नुपर्ने प्रतिनिधिले आवाज उठाएका थिए । हाल एमालेमा कोषको जिम्मेवारी आर्थिक विभाग प्रमुख रहने व्यवस्था गरिएको छ ।

महाधिवेशनमा प्रस्तुत दस्ताबेजहरूमाथि उठेका प्रश्नहरूको जवाफ अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले दिएपछि महाधिवेशन विधिवत् रूपमा समापन हुनेछ ।

समापन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । पार्टीका उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका छन् ।

केन्द्रीय कमिटीले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीको कूल सदस्य सङ्ख्याको बढीमा १० प्रतिशत आफ्नो कमिटीमा सदस्य मनोनीत गर्न सक्ने र अन्य पार्टी वा राजनीतिक समूहबाट यस पार्टीमा समाहित हुन आउने योग्यतम व्यक्तिमध्येबाट बढीमा १० प्रतिशत सदस्य मनोनीत गर्न सक्ने व्यवस्था गरिएको छ ।