एमालेको कार्यकारी पदमा उठ्न उमेर हद, ओलीलाई पूर्ण कार्यकाल अध्यक्ष हुने बाटो खुल्यो

काठमाडौं, १७ असोज । नेकपा एमालेको कार्यकारी पदमा उठ्न उमेर हद निर्धारण तोकिएको छ।

आइतबार ललितपुरको सनराइज केन्द्रमा जारी एमालेको विधान महाधिवेशनले ७० वर्ष नाघेपछि कार्यकारी पदमा उठ्न नपाइने व्यवस्था गरेको हो ।

पार्टीको विधान महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नहरुको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नाघेपछि उम्मेदवारी दिन नपाइने प्रस्ताव अघि सारेका थिए।

एमालेले ७० वर्षमा कोही उम्मेदवार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधानमा भने गरेको छ ।

यो व्याख्याले आगामी दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए पूर्ण कार्यकाल अध्यक्ष पदमा रहेर काम गर्न पाउनेछन् ।

एमालेको योग्यता संशोधन गरिएको छ। यसअघि तोकिएको पार्टी सदस्य भएको १५ वर्ष हुनुपर्ने प्रावधान संशोधन गरी १० वर्ष कायम गरिएको छ।

केन्द्रीय सदस्यको न्युनतम योग्यता केन्द्रीय निकायको सदस्य भएको वा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएको व्यक्ति योग्य हुनेछ।

त्यस्तै, एउटै व्यक्ति उही तहको कार्यकारी पदमा दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था पनि विधान महाधिवेशनले पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here