दशैं बिदामा गन्तव्य गोरखा, नेपाल राज्यको इतिहास घुमौं

– जितेन्द्र खनाल

काठमाडौं, २० असोज । तपाईँ आफूलाई नेपाली भन्नुस या गोरखाली, अर्थ एउटै हो । अढाइ सय वर्षअघिको सानो गोरखा राज्य त्यस बेलाका बाइसे चौबिसे राज्यजस्तै नामोनिसान नरहने गरि मेटिन सक्थ्यो । इतिहासको कालखण्डमा बिलिन हुन सक्थ्यो ।

तर, गोरखाका राजा पृथ्वीनारायण शाहको दूरदर्शिता र अदम्य साहसले अहिले हामी विशाल नेपालका नागरिक बनेका छौं । गोरखालीको वीरता पहाड नदी मात्र होइन समुद्रपारसम्म फैलिएको छ । बेलायतदेखि अर्जेन्टिनासम्मका मानिसहरु गोरखाली भने पछि नतमस्तक हुन्छन् ।

त्यसैले दशैं बिदामा एक पटक गोरखा पुग्नुस् । आधुनिक नेपालको इतिहास बुझ्नुस् । अनि त्यहाँका ऐतिहासिक, प्राकृतिक तथा साँस्कृति सम्पदासँग रमाउनुस् ।

प्राकृतिक तथा ऐतिहासिक दुवै हिसावले भरिपुर्ण गोरखा काठमाडौंबाट १४२.५ किलोमिटरको दुरीमा पर्छ । त्यस्तै, पोखराबाट १०६ किलोमिटर र नारायणघाटबाट ६७.२ किलोमिटरको दुरीमा पर्छ ।

नेपालको ऐतिहासिक महत्व बोकेको गोरखा काठमाडौं उपत्यकाबाट नजिकको र कम खर्चमा पुग्न सकिने भएको कारण दशैं बिदामा घुम्ने एक उत्कृष्ट गन्तव्य बन्न सक्छ ।

यदी तपाईं पनि दशैं बिदामा कम खर्चमा छोटो दुरिको थोरै समयमा रमाईलो स्थानको भ्रमण गर्ने सोँचमा हुनुहुन्छ भने गोरखा तपाईंको लागि पहिलो रोजाईंमा पर्न सक्छ ।

के-के छन् गोरखामा घुम्ने ठाउँहरु ?

गोरखा धार्मिक स्थान, पर्यटकीय स्थान, ऐतिहासीक सबै गुणहरुले भरिपुर्ण छ ।

धार्मिक स्थलहरु

गोरखा जिल्ला धार्मिक स्थलहरुले पनि भरिपुर्ण नै छ । नेपालमै सबैभन्दा धेरै भक्तजनहरुले भ्रमण गर्ने केबुलकार चढेर जाने मन्दिर मनकामनाको साथै गोरखनाथ पनि गोरखामा नै पर्छ ।

गोरखनाथ परिचय

गोरखा जिल्लामा रहेको यो ऐतिहासिक दरबार गोरखा बजारभन्दा माथि पहाडको टुप्पोमा रहेको छ । यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ ।

नेपाल एकीकरणमा महत्त्वपुर्ण योगदान पुर्याएका राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्त्वपुर्ण ऐतिहासिक स्थल मानिन्छ ।

पृथ्वी नारायण शाहलाई राज्य एकीकरण गर्ने प्रेरणा पनि गोरखनाथबाट नै मिलेको किम्बदन्ती रहेको पाइन्छ ।

यस्तो छ किम्बन्तीः

‘एकदिन सपनामा पृथ्वीनारण शाहलाई गोरखनाथले दर्शन दिएका थिए । दुवैको वार्ता पनि भयो, गोरखनाथले पृथ्वीनारायण शाहलाई हात थाप्न लगाए र उनले दही उल्टी गरे, पृथ्वीनारण शाहले घिन मानेर हात हटाए र दही खुट्टामा पर्यो ।

यसपछि उनलाई जहाँ जहाँ टेक्यो त्यही स्थानमा विजय हुने बरदान मिल्यो । यदी उनले हात नहटाएको भए र उनको हातमा दही परेको भए उनले जे जे माग्यो त्यही पुग्ने थियो’ भन्ने किम्बदन्ती पाइन्छ ।

यसका अलवा अन्य धेरै साना ठूला धार्मिक स्थलहरु पनि छन् । गोरखामा बौद्ध धर्म मान्ने मानिसहरुको बाहुल्य पनि धेरै भएको कारण हिमाली भेगहरुमा धेरै गुम्बाहरु पनि छन् ।

उत्तरी भागमै हिन्दु धर्मावलम्बिहरुको प्रसिद्ध नारद पोखरी पनि छ जहाँ जनै पुर्णिमामा भक्तजनहरुको घुँईचो लाग्छ । यहाँ स्नान गर्नको लागि ३/४ दिनसम्मको पैदल यात्रा गरेर मानिसहरु आउछन् । यसका साथै लमजुङको सिमानामा पर्ने दुधपोखरी पनि उत्तिकै प्रसिद्ध छन् ।

पर्यटकिय स्थलहरु

गोरखाको अर्को महत्वपूर्ण कुरा भने पर्यटकिय स्थल पनि हो । संसारकै पाँचौं अग्लो हिमाल मनास्लु पनि गोरखामै पर्छ । यसका साथै यहाँबाट धौलागिरी देखि गणेश हिमालसम्मका मनमोहक दृश्य देखिन्छ ।

यसका साथै घना जंगल, पहाडहरु, विभिन्न प्रकारका नदीहरु, सम्म मैदान र फाँटहरु, शितोष्ण हावापानी शान्त वातावरण आदीले यहाँ घुम्न आउने सबैको मन लोभ्याईदिन्छ ।

यसका साथै गोरखामा लिगलिग कोट, श्रीनाथ कोट गरी गोरखामा २२ कोट रहेको छ । यसका साथै बारपाक, लाप्राक, जस्ता स्थान होम स्टेको लागि सबैभन्दा राम्रो स्थानमा पर्छन् ।

लिगलिग दौड

लिगलिगकोटको राज्य सञ्चालन गर्नका लागि प्रत्येक वर्ष विजया दशमीका दिन दौड प्रतियोगिता गरी प्रमुख व्यक्ति छान्ने कार्यक्रम हो लिगलिग दौड ।

यो घलेहरूको ऐतिहासिक प्रतियोगिता हो । विश्वमा राज्य सञ्चालनका लागि लोकतान्त्रिक अभ्यासको थालनी सबैभन्दा पहिले लिगलिगबाट नै भएको हो भनी दाबी यहाँका मानिसहरु गर्छन् ।

गोरखा जिल्ला आँपपीपल गाविस वडा नं. ४ को आँपपीपल खोल्लीमा पर्ने यो स्थल समुद्रसतहबाट ४ हजार ७ सय ९० फिट उचाइमा रहेको छ । यो प्रतियोगिता चेपे र मस्र्याङ्दी नदीको दोभान चेपेघाटबाट सुरु भई लिगलिगकोट दरबारसम्म १३.८ किमि दौडने गरिन्छ ।

यसमा विजय भएको मानिसलाई राजा समेत घोषणा गरिन्छ । यदी तपाईं पनि लिगलिग दौडको अनुभव लिन चाहनुहुन्छ भने दशैंमा लिगलिग जान सक्नुहुन्छ ।

गोरखा संग्राहलय

हालको संग्रहालय भवन १८९६ सालमा राजेन्द्र विक्रम शाहले छोरा सुरेन्द्रलाई राख्न बनाएका थिए । यहाँ सर्वसाधारणका लागि भने जेठ ०६५ बाट खुला गरिएको थियो । ६८ रोपनी क्षेत्रफलमा फैलिएको परम्परागत चौघेरा शैलीमा निर्माण गरिएको संग्राहलयमा १२ कक्ष छन् ।

पुराना हातहतियार, राजाहरूको जन्मकुण्डी, प्राचीन भाँडावर्तन, नेपालमा बसोबास गर्ने मुख्य जातजातिका भेषभूषा, धार्मिक कक्ष, प्राचीन बाजागाजा विभिन्न कक्षमा राखिएका छन् ।

०३६ सालसम्म जिल्ला प्रशासनिक अड्डा रहेको संग्राहलय भवनलाई ०४२ सालमा गोरखा दरबार संरक्षण परियोजना सुरु भएपछि ०५८ मा पृथ्वी स्मृति संग्राहलका रूपमा स्थापना गर्ने योजना बनेको थियो ।

तर, ०६३/०६३ को जनआन्दोलनपछि गोरखा संग्राहलय नामकरण भएको हो । वर्तमान समयमा यहाँ अवलोकनको लागि आउने मानिसहरुको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ ।

नेपाल एकिकरणको समयमा प्रयोग भएका हात हतियार, नक्साहरु, तोप तथा राजा पृथ्वीनारायण शाहका राज गद्दी, कालु पाँडेको मुर्ती तथा अन्य विभिन्न प्रकारका सामग्रीहरुले सबैको मन लोभ्याउने गर्छ ।

यदी तपाईं पनि गोरखा एकिकरणको समयमा प्रयोग भएका सामग्री, हात हतियार तथा राजा पृथ्वी नारायण शाहको गद्दी हेर्न चाहनुहुन्छ भने एकपटक यो संग्राहलयको अवलोकन अवश्य गर्नुहोस ।

ऐतिहासिक

नेपाल एकिकरणको अभियान सुरु भएको गोरखा जिल्लालाई ऐतिहासिक रुपले पनि चिनीन्छ । एकिकरणमा प्रयोग भएका सामग्री, पुराना पृथ्वीनारायण शाहका समयमा बनेका राज दरबारहरु पनि गोरखामा छन् ।

यसका साथै गोरखा दरबारलाई पनि ऐतिहासीक रुपमा मानिन्छ । प्रत्येक वर्ष अष्टमीको दिन यहाँ पशु तथा पंक्षिहरुको बली दिइन्छ ।

भीमसेन थापाको सालिक

गोरखा नगरपालिका स्थित पिपलथोकमा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको सालिक निर्माण गरिएको छ ।

राष्ट्रिय विभूति भीमसेन थापाको नाममा निर्माण गरिएको पार्कमा स्थापना गरिएको सालिकको तत्कालिन संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अनावरण गरेका थिए ।

करीब २० लाख रुपैयाँको लागतमा निर्माण भएको सालिक पाँच फिट ११ इन्च लामो छ भने सालिकमा चार प्रकारका घातुहरुको प्रयोग गरिएको छ ।

नेपालको प्रथम प्रधानमन्त्रीसमेत रहेका थापाले कमारा–कमारी प्रथा उन्मूलन, दाजुको मृत्यु भएमा भाउजूलाई पत्नीका रूपमा स्वीकार्नु पर्ने कुप्रथामाथि प्रतिबन्ध, सम्पन्न वर्गले श्रमिक वर्गलाई सित्तैमा आफ्नो निजी काममा लगाउने कुप्रथाको प्रतिबन्ध, घुस खाने र खुवाउनेलाई दण्डित गर्ने व्यवस्था, सेनाको आधुनिकीकरण लगायत विभिन्न क्षेत्रमा योगदान दिएको इतिहासमा उल्लेख छ ।

गोरखा घुम्नको लागि उपयुक्त समय कुन ?

सामान्यतया गोरखा जिल्ला घुम्नको लागि ३६५ दिन नै उपयुक्त मानिन्छ । गोरखा सदरमुकामको हावापानी सबै मौसममा सामान्यतया समान नै रहेपनि उत्तरी भु-भागमा भने चिसो हुने कारण फागुन देखि जेठ सम्मको समय भ्रमणको लागि सबैभन्दा उपयुक्त मानिन्छ ।

यो समयमा तुवालो कम मात्रामा लाग्ने कारण वरिपरीको वातावरण प्रष्ट र राम्रोसंग देख्न सकिन्छ । चम्कीला हिमालहरुको दृश्य अवलोकनको लागि पनि यो मौसम उपयुक्त मानिन्छ ।

कसरी जाने गोरखा ?

काठमाडौंबाट जम्मा १४२.५ किलोमिटरको दूरिमा रहेको गोरखा बस, माइक्रो, कार, मोटरसाईकल जुनकुनै माध्यमबाट पनि जान सकिन्छ ।

काठमाडौंबाट गोरखा जानको लागि नयाँ बसपार्कबाट बस, डिलक्स बस तथा माइक्रोबस पाइन्छ । काठमाडौंबाट गोरखा पुग्नको लागि बसमा सामान्यता प्रतिव्यक्ती ३५० रुपैयाँ र माइक्रोमा प्रतिव्यक्ति ४०० रुपैयाँसम्म लाग्छ ।

सामान्यतया काठमाडौंबाट गोरखाको सदमुकामसम्म पाँच देखि छ घण्टाको बिचमा पुग्न सकिन्छ । गोरखाको सदमुकामबाट बारपाक, लाप्राक तथा मनकामना तथा हरेक स्थानमा पुग्नको लागि बसहरु पाइन्छ । गोरखनाथ तथा गोरखा संग्राहलय भने सदरमुकामबाटै कार ट्याक्सि पाइन्छन् ।

गोरखामा कहाँ बस्ने ?

गोरखामा एक रात बस्नको लागि ३०० देखि ५०० सम्मको बजेटले पुग्छ । यो मूल्यमा गोरखा सदमुकाममा नै पनि राम्रैसंग बस्न सकिन्छ । यसका अलवा केही सस्ता लजहरु पनि पाइन्छन् । सदमुकाम बाहिर पनि पर्यटकीय हामस्टे भएका गाउँहरुमा पनि धेरै महङ्गो भने पर्दैन् ।

के-के खाने ?

गोरखामा १ सय ५० देखि २ सयमा सादा खाना प्राय सबै होटलहरुमा खान सकिन्छ । यसका साथै होमस्टेहरुमा भने त्यहाँका लोकल उत्पानदहरुको पनि स्वाद लिने अवसर मिल्छ । लोकर कुखुरा, ढिडो तथा अन्य विभिन्न प्रकारका परिकारहरु खान सकिन्छ ।

यसका साथै गोरखा सुन्तलाको लागि पनि परिचीत छ । गोरखाको मनकामनामा उत्पादन भएका सुन्तलाको माग अत्यन्त धेरै हुन्छ । गोरखामा उत्पादन भएको सुन्तला खानको लागि तपाई सुन्तला उत्पादन हुने मौसम कात्तिक, मंसिरमा गोरखा जानुपर्छ । यसका साथै गारेखाको प्राय सबै स्थानमा धेरै थोरै सुन्तला उत्पादन हुन्छ ।

कति दिन घुम्ने गोरखा ?

गोरखा घुम्नको लागि १ हप्ताको समय प्रयाप्त हुन्छ । यो समयमा तपाईं गोरखाका मुख्य मुख्य पर्यटकीय स्थानहरुमा घुम्न सक्नुहुन्छ । यस समयमा मनकामना, गोरखकाली, गोरखा संग्राहलय, बारपाक, लाप्राक तथा अन्य केही स्थानहरुको पनि अवलोकन गर्न सकिन्छ । तर, मनासलु तथा अन्य हिमालहरुलाई नजिकबाट नियाल्ने सोँचमा हुनुहुन्छ भने थप केही समय लाग्छ ।

कोशेली के ल्याउने ?

गोरखाको सुन्तला सबैभन्दा राम्रो र सबै स्थानमा माग हुने भएको कारण तपाईं कोशेलीको रुपमा गोरखाको सुन्तला ल्याउन सक्नुहुन्छ । यसका साथै, गोरखाकाली तथा मनकामनामा विभिन्न प्रकारका मायाको चिनो तथा अन्य महत्वपुर्ण सामग्रीहरु पनि पाइन्छ ।

तपाई उच्च हिमाली भू-भागमा जानुभयो भने हिमाली जडिबुटी, औषधी तथा अन्य लोकल उत्पादनहरु पनि कोसेलीको रुपमा ल्याउन सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here