दुई महिनामै भित्रियो ११ करोडको खसीबोका, मदिरा आयात ९४ प्रतिशत वृद्धि

काठमाडौं, २१ असोज । चाडपर्व सुरु भएसँगै मासुजन्य पदार्थ र पेय पदार्थको आयातमा उच्च वृद्धि भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्षको दुई महिना (साउन, भदौ) मा १० करोड ८२ लाख रुपैयाँ बराबरको खसीबोका र ३५ करोड २८ लाख रुपैयाँको मदिरा आयात भएको छ ।

नेपालीहरुको प्रमुख चाडबाड नजिकिँदै गर्दा चाडपर्वलाई लक्षित गर्दै खसीबोका र मदिरा आयातमा वृद्धि भएको हो ।

यस अवधिमा दशैं लक्षित रक्सी, वाइन, वियर जस्ता पेय पदार्थदेखि अन्य सफ्ट ड्रिंग्सहरू, खाद्य तेल, दाल, ताजा तरकारी, फलफूल, खाद्यान्न, मसला, कपडा, जुत्तालगायतका सामग्रीको आयातमा पनि वृद्धि भएको छ ।

केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही समयको तुलनामा चालु आर्थिक वर्षमा आयातमा ४५.७० प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को भदौ मसान्तसम्म ६३ अर्ब ४३ करोड ८१ लाख १५ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा यस्तो वस्तु ४३ अर्ब ५४ करोड ६ लाख ३२ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।

मदिरा आयात ९४ प्रतिशत बढ्यो

यस अवधिमा रक्सी आयातमा उल्लेख्य वृद्धि भएको छ । केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्षको दुई महिनामा ३५ करोड २८ लाख रुपैयाँ बराबरको रक्सी आयात भएको छ ।

यो आयात अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा ९४ प्रतिशत बढी हो । केन्द्रको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको सोही समयमा १ करोड ९९ लाख रुपैयाँ बरारबरको रक्सी आयात भएको थियो ।

एक अर्बभन्दा बढी मूल्यको जुत्ता भित्रियो

गएको दुई महिनामा १ अर्बभन्दा धेरै मूल्यको जुत्ता आयात भएको छ । केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको जुत्ता आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही समयमा ४७ करोड ८४ लाख रुपैयाँ बराबरको जुत्ता आयात भएको थियो ।

त्यस्तै, सोयाबिन, सनफ्लावर र तोरीको तेल जस्ता खाद्य तेलको आयातमा पनि वृद्धि भएको छ । केन्द्रको तथ्यांक अनुसार यस वर्ष १८ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबर खाद्य तेल आयात भएको छ ।

गत आर्थिक वर्षको सोही समयमा ७ अर्ब ७५ करोड ७ लाख रुपैयाँ बराबरको खाद्य तेल आयात भएको केन्द्रको तथ्यांकले देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here