कमोडिटी एक्सचेञ्जका लागि ६ कम्पनीको आवेदन, दुईले मात्र अनुमति पाउने

काठमाडौं १२, असार । कमोडिटी एक्सचेञ्ज सञ्चालनका लागि ६ वटा कम्पनीले इच्छा देखाएका छन् । सोही अनुसार ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बुधबारसम्म ६ वटा कम्पनीले आवेदन दिएको बोर्ड स्रोतले जनाएको छ । पछिल्लो पटक बोर्डले आवेदनका लागि आब्ह्रान गर्दा २ महिना समय दिएको थियो ।

कमोडिटी एक्सचेन्जका लागि ६ वटा आवेदन परे पनि दुईवटाले मात्र अनुमति पाउने बोर्डले बताएको छ । बोर्डले यसअघि परेका पाँचवटा आवेदन रद्द गर्दै दुईवटा कम्पनीका लागि आवेदन माग गरेको थियो ।

बोर्डमा आवेदन दिने कम्पनीहरुमा नेपाल मर्कन्टायल एक्सचेन्ज, कमोडिटी फ्युचर एक्सचेन्ज, राइजल कमोडिटी एन्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज नेपाल लिमिटेड, नेपाल डेरिभेटिभ एक्सचेन्ज र नेसनल कमोडिटी डेरिभेटिभ एक्सचेन्ज कम्पनी छन् ।

यी मध्ये धेरैजसोले यसअघि पनि आवेदन दिएका थिए । केही लगानीकर्ता हेरफेर गरेर पुनः आवेदन पेस गरिएको स्रोतले बताएको छ । अहिले आवेदन दिने कम्पनीको लगानीकर्तामा वाणिज्य बैंक, विकास बैंक, बिमा कम्पनी लगायत व्यवसायीक घरानाहरु छन् ।

यसअघि बोर्डमा नेपाल कमोडिटी एक्सचेन्ज, नेपाल मर्केन्टाइल एक्सचेन्ज, कमोडिटी फ्युचर्स एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज नेपाल र रिगेल कमोडिटी एन्ड डेरिभेटिभ एक्सचेन्ज गरी पाँचवटा कम्पनीले आवेदन दिएका थिए । मापदण्ड नपुगेको भन्दै ती सबै कम्पनीको आवेदन बोर्डले अस्वीकृत गरेको थियो ।

वस्तु विनिमय बजारसम्बन्धी ऐनमा कमोडिटी एक्सचेन्ज कम्पनीको चुक्ता पुँजी न्यूनमत ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । वस्तु बजारसम्बन्धी ऐन जारी भएपछि कुनै पनि कम्पनीले सञ्चालन अनुमति पाएका छैनन ।

नियमावलीमा कमोडिटी एक्सचेन्ज कम्पनी सञ्चालनका लागि बोर्डका अनुमति लिनुपर्ने व्यवस्था छ । करिब ११ वर्षअघिदेखि नेपालमा कमोडिटी बजारको सुरुवात भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here