खाद्य कम्पनीले बेच्न थाल्यो खसीबोका, मूल्य पोहोरकोभन्दा ९० रुपैयाँ महंगो

काठमाडौं, २३ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दशैंका लागि खसीबोका विक्री शुरु गरेको छ ।

खाद्य कम्पनीले यस वर्षको बडादशैँका लागि खसी तथा बोका विक्री वितरण शुरु गरेको हो ।

कम्पनीले यस वर्षको दशैंका लागि मुस्ताङबाट च्याङ्ग्रा नल्याएपछि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका ल्याएको छ ।

दशैंका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो।

बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भएता पनि यसवर्ष खसी-बोका मात्र बिक्री हुनेछ । कम्पनीले गत वर्षकोे तुलनामा जिउँदो खसीबोकामा प्रति किलो ९० रुपैयाँ बढाएको छ ।

गत वर्ष प्रतिकिलो ५५० रुपैयाँमा बिक्री गरेको कम्पनीले यस वर्ष मूल्य बढाएर ६४० रुपैयाँ बनाएको हो । कम्पनीले किलोमा दश रुपैयाँ छुट दिदैँ जिउँदो खसीबोकाको मूल्य ६४० रुपैयाँ निर्धारण गरेको हो ।

कम्पनीले यस वर्ष २ हजार खसीबोका बिक्री गर्ने तयारी गरेको छ । जसअनुसार पहिलो लटमा दाङबाट २२९ र हेटौंडाबाट ३०२ वटा गरी ५३१ खसीबोका शुक्रबार बिहान थापाथली बिक्री काउन्टरमा ल्याईएको छ ।

बजारमा जिउँदो खसी बोकाको मूल्य ५५० देखि ७५० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here