इमर्जिङ नेपालले स्टार्टअप कम्पनीहरुमा लगानी गर्ने, रु. १ करोड भन्दा बढी लगानीका कम्पनीबाट प्रस्ताव माग्यो

क्लाउडपत्रिका
काठमाडौं, ११ साउन । इमर्जिङ नेपाल लिमिटेडले स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहन गर्नका लागि स्वपूँजी लगानी गर्ने भएको छ ।

सरकार, व्यावसायिक घराना तथा पूर्व प्रशासकहरुको सामुहिक लगानी रहेको सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत स्थापित सो कम्पनीले रु. १ करोड भन्दा बढी लगानी रहेका विभिन्न क्षेत्रका कम्पनीहरुमा लगानी गर्ने योजना सार्वजनिक गरेको हो ।

‘नेपालमा दर्ता भइ सञ्चालनमा आइसकेका र कुनै न कुनै तवरले देशको आर्थिक विकासमा टेवा पु¥याइरहेका तर पूँजीको अभावको कारणले ठूलो स्केलमा जान नसकेका निम्न क्षेत्रसँग सम्बन्धित संस्था तथा परियोजनाहरुमा लगानीका लागियो प्रस्ताव आह्वान गरिएको हो,’ कम्पनीले भनेको छ ।

छानिएका परियोजनामा कम्पनीले ८० प्रतिशतसम्म स्वपूँजी लगानी गर्नेछ ।
इमर्जिङ नेपालले शिक्षा, स्वास्थ्य, सूचनाप्रविधि, पूर्वाधार विकास, कृषि तथा जडिबुटी र पर्यटन क्षेत्रका कम्पनी तथा परियोजनमा लगानी गर्ने छ ।

‘ आधुनिक शिक्षा, हालसम्म नेपालमा सञ्चालनमा नआएका विभिन्न नयाँ कोर्षहरु, सीपमूलक शिक्षा तथा तालीम, काठमाडौं वा अन्य स्थानमा सुविधासम्पन्न ल्याब तथा अस्पताल, फर्मास्युटिकल, वित्तीयप्रविधि, सूचनाप्रविधि शिक्षा, आईटी सुरक्षा, अनलाईन भुक्तानी, लजिस्टिक र ट्राभल टुर्स, इक्विपमेण्ट लिजिङ, हाउजिङ र जलविद्युत, कृषि उद्योग, जडिबुटी संकलन तथा प्रशोधन, वेयरहाउस, होटल, रिसोर्टलगायत परियोजना कम्पनीको प्राथमिकतामा रहेका छन्,’ कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले स्वपूँजी लगानी गनका लागि पहिलो चरणमा उद्यमीसँग अवधारणापत्र माग गर्ने छ भने दोस्रो चरणमा परियोजनाको विस्तृत प्रतिवेदन पेश गर्नुपर्नेछ । उद्यमका सञ्चालक, ब्रेक इभन प्वाइन्ट, नाफाघाटा, व्यवसाय विस्तारको संभावना, सिर्जनशीलता र इनोभेसन आदि पक्षहरु हेरेर कम्पनीले लगानीको निर्णय लिने बताएको छ ।

इमर्जिङ नेपालले हालसम्म केयर रेटिङ (नेपाल) लिमिटेड र होटल एलिस – द वन्डर इन लिमिटेड सञ्चालनमा ल्याइसकेको छ । साथै, ठूला पूर्वाधार योजनमा लगानी गर्नका लागि स्थापना गरिने पूर्वाधार बैंकमा रु. २५ करोड लगानी गर्ने योजना बनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here