बेमौसमी वर्षाले सडकमा १ अर्ब ५ करोडको क्षति, ४ वटा राजमार्ग अझैं अवरुद्ध

काठमाडौं, ७ कात्तिक । बेमौसमी भीषण वर्षाले राष्ट्रिय राजमार्गमा करिब १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा विकास तथा प्रविधि समितिमा विभागका महानिर्देशक अर्जुनजंग थापाले उक्त विवरण प्रस्तुत गरेका हुन् ।

वर्षाका कारण आएको बाढी, पहिरो, डुबान र कटानले उक्त रकम बराबरको क्षति भएको उनले जानकारी दिए । अनुमान प्रारम्भिक हो, पूर्ण विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

बेमौसमी वर्षाले १८ वटा राजमार्गका २४४ ठाउँमा बन्द भएको थापाले जानकारी दिए । तीमध्ये अझै केही खुल्न बाँकी रहेको उनको भनाइ थियो । हाल दुवै तर्फ यातायात सुचारु भएको राजमार्गको संख्या ३ तथा एकतर्फी यातायात चालु रहेको स्थान ९ रहेका छन् ।

बाढी पहिरोका कारण ४ वटा राजमार्ग अहिले पनि अवरुद्ध रहेको र ६ स्थानमा अहिले पनि यातायात सञ्चालनमा आउन नसकेको उनले बताएका छन् ।

समितिले बाढी, पहिरो र डुबानका कारण क्षतिग्रस्त सडक पूर्वाधार र मध्य पहाडी लोकमार्गबारे छलफल गर्न भौतिक पूर्वाधार मन्त्री, सचिव, सडक विभागका महानिर्देशकलगायत सम्बद्ध पक्षलाई बोलाएर छलफल गरिरहेको छ ।

कात्तिक १ गतेयता परेको वर्षका कारण सुदूरपश्चिम र कर्णाली लगायतका धेरै ठाउँमा बाढी र पहिरो गएको थियो । तराईका विभिन्न जिल्ला डुबानमा परेका थिए ।

लगातार परिरहेको पानीले सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको भालु पहाडमा पहिरो गएको थियो । पहिरोले बेलहिया–भैरहवा–बुटवल–बर्तुङ–राम्दी–स्याङ्जा–पाखेरा सडक खण्डको यात्रा अबरुद्ध भएका थिए ।

पुष्पलाल राजमार्ग अन्तर्गत सिन्धुलीको सुर्कोट घुर्मी खण्डको अक्करे भिर तथा सोखु खोलामा पहिरो गएको थियो।

यस्तै, धनगढी–सहजपुर–वुडर–स्याउले, सतबाँझ–थाकतोली–दार्चुला–टिङ्कर दार्चुला बोडरको ३ किलोमिटर पर किम्तडीमा पहिरो गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here