यी हुन् युवतीहरूमाथि श्रृंखलाबद्ध आक्रमण गर्ने युवक, भन्छन्ः रमाइलाेकाे लागि गरेँ

काठमाडौं, १३ असार । काठमाडौंका विभिन्न स्थानहरुमा राती राती श्रृंखलाबद्ध रुपमा युवतीहरुमाथि धारिलो वस्तुते आक्रमण गरेर भाग्ने युवकलाई काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको छ ।

प्रहरीले रामेछाप घर भइ काठमाडौंको महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका ३० वर्षीय सन्तोष कार्कीलाई बिहीबार राती पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उनले राती १० बजेपछि रेष्टुरेन्ट बन्द गरेर नैकापस्थित कोठामा जाने क्रममा बाटोमा पर्ने सोह्रखुट्टे, ढल्कु, डल्लु जस्ता स्थानमा पैदल हिँडिरहेका युवतीहरुमाथि धारिलो ढलान किलाले घोपेर भाग्ने गरेको स्विकारेका छन् ।

रातको समयमा मोटरसाइकलमा आएको युवकले पैदल हिँडिरहेका युवतीहरुलाई धारिलो वस्तुले आक्रमण गरेर भाग्ने गरेको एकै प्रकृतिको घटनाहरु श्रृंखलाबद्ध रुपले भएको उजुरी आएपछि विशेष अनुसन्धान गरी उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।

श्रृंखलाबद्ध रुपमा त्यस्तो घटना भएको सार्वजनिक भएपछि पुरै काठमाडौं त्रसित भएको थियो । युवतीहरुमाथि एचआईभी वा हेपाटाइटिस जस्ता प्राणघातक रोगको भाइरसयुक्त रगत भएको सिरिञ्जले आक्रमण भएको आशंका गरिएको थियो ।

रमाइलोको लागि गरेको कार्कीको बयान

श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि तिखो बस्तुले हान्दै भाग्ने कार्यमा संलग्न रहेका कार्कीले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि त्यस्तो कार्य गरेका बताएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार कार्कीले ढलान किला प्रयोग गरेर युवतीहरुलाई घोच्ने गरेको बयान दिएका छन् ।

बाटोमा युवतीहरुलाई एक्लै देखे उनले आक्रमण गर्ने गरेका थिए । आक्रमणमा परेका युवतीहरूले शरीर चिलाउने, सुन्निने गरेको बताएपछि चिकित्सकहरूले उनीहरुमाथि एचआईभी वा हेपाटाइटिसको जोखिम भएको आशंकामा उच्च सतर्कताका साथमा उनीहरूलाई एआरटी औषधि समेत चलाएका थिए ।

विदेशमा एचआईभी सारिदिनको लागि यस्तै प्रकारका आक्रमण हुने भएकाले आक्रमणमा परेका युवतीहरु र उनीहरुको परिवार मनौवैज्ञानिक रुपमा त्रासमा थिए । प्रहरीले यसबारेमा अझै विस्तृतमा अनुसन्धान भइरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here