टेलिश्रृंखला ‘सिंहदरवार २’ को प्रसारण आजदेखि, गौरी मल्ल पुनः प्रधानमन्त्री बनिन्

क्लाउडपत्रिका
काठमाडौं, १२ साउन । सिंहदरबार टेलिश्रृंखलाको भाग दुई सनिबारदेखि प्रशारण थालिएको छ ।

नेपाल टेलिभिजनबाट हरेक शनिबार साँझ ८ः५० देखि ९ः३० बजेसम्म प्रसारण हुने टेलिश्रृंखला ‘सिंहदरबार २’ १३ भागको रहेको छ । दिगो विकास लक्ष (एसडीजी) प्राप्तिका लागि सर्च फर कमन ग्राउण्ड नेपालले नेपालस्थित संयुक्तराष्ट्र संघसँग सहकार्य गरेको छ । यसै सहकार्य अनुरुप टेलिश्रृंखलाले दिगो विकास लक्ष प्राप्ति सम्बन्धि सकारात्मक सन्देश प्रवाह गर्नेछ ।

टेलिश्रृंखलाको यो सिजन, संघीय संरचनामा जाँदा नेपालले सामना गर्ने चुनौति र अवसरहरुमा केन्द्रित गरिएको छ । टेलिश्रृंखलाले काँचको पर्दामा नेपालको पहिलो प्रथम महिला प्रधानमन्त्री आशा सिँहको राजनीतिक यात्रालाई निरन्तरता दिएको छ । आशा सिंहको भुमिका नेपालकी चर्चित अभिनेत्री गौरी मल्लले निर्वाह गरेकी छन् ।

यो सिजनमा नेपालमा संघीय संरचना त्यससँग सम्बन्धित नीति र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्री आशा सिंह कसरी सफल हुन्छिन् भन्ने कुरा देखाइएको छ । यसका साथै मानव वेचविखन, विपद् व्यवस्थापन, यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार जस्ता मुद्दालाइ पनि समेटिएको छ ।

यो टेलिश्रृंखलाले सरकार र नागरिकबीचको खाडललाई कम गर्न तथा संघियता र सुशासनको बारेमा जनचेतना अभिवृद्धि गर्न पुलको काम गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको विश्वास छ ।

नवीन सुव्वाले निर्देशन गरेको यो टेलिश्रृंखलामा रमेश रन्जन झा, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, आलोक थापा, बादल भट्ट, देशभक्त खनाल, प्रकास घिमिरे, हेमन्त चालिसे, प्रभात रिमाल, सुरेश चौधरी, सविना गोपाली र रेम विक लगायतले अभिनय गरेका छन् ।

टेलिश्रृंखला ‘सिंहदरवार २’ को पटकथा लेख अविनास विक्रम शाह र छिरिङ्ग छोडेनको नेतृत्वमा प्रविण अधिकारी, सम्पदा मल्ल तथा सुरज पौडेलले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here