लापरवाह यूरोप : डब्यूएचओले भन्यो ‘फेरी कोरोनाको केन्द्र बन्दैछ’

१९ कात्तिक, लण्डन । विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले युरोप कोरोना भाइरसको फेरी चपेटामा आउने चेतावनी दिएको छ । यूरोप पछिल्लो समय लापरवाह बनेको छ । कोरोना विरुद्ध सामाजिक दुरी कायम गर्ने देखि खोप लगाउने मामलामा समेत यहाँ लापरवाही भएसँगै संगठनले उक्त चेतावनी दिएको हो ।

संगठनका अनुसार यूरोपमा ​कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । सो महादेश पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको विश्व स्वास्थ्य सङ्गठनको भनाई छ ।

बीबीसीका अनुसार डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताएका छन् । साथमा खोप पर्याप्त मात्रामा नलगाइँदा समेत सङ्क्रमितको सङ्ख्या बढको उनको भनाई छ ।

उनले काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्ने भन्दै कोभिड(१९ बढेकोमा प्रतिक्रिया जनाउने भन्दा सुरुमै यो सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नए सुझाव दिए । अहिले कोरोना विरुद्धको खोप लगाउने दर यूरोपमा घटेको छ । यद्दपी ती मुलुकसँग पर्याप्त मात्रामा खोप रहेको छ । स्पेनमा करिब ८० प्रतिशत मानिसले दुवै मात्रा खोप लगाएका छन् ।

फ्रान्स र जर्मनीमा भने क्रमशः ६८ र ६६ प्रतिशतले मात्रै लगाएका छन्। पूर्वी र मध्ययुरोपका केही देशमा त खोप लगाउनेको सङ्ख्या अझै कम रहेको छ। सन् २०२१ को अक्टोबरसम्ममा जम्मा ३२ प्रतिशत रुसीहरूले मात्रै पूर्ण मात्रा खोप लगाएका छन्।

डब्ल्यूएचओका युरोप प्रमुख क्लुग्अले सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका कारण पनि सङ्क्रमण बढेको बताएका छन्। युरोपेली क्षेत्रमा मध्यएसियाका केही भागसहित ५३ देश रहेका छन् ।