भूकम्पपछि यो वर्ष खुल्यो बालगोपालेश्वर मन्दिर

२० कात्तिक, काठमाडौं । दिदीबहिनी र दाजुभाई नहुनेका लागि तिहारका दिन मात्र खुल्ने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर यो वर्ष खुला भएको छ । भूकम्पपछि पुनर्निर्माणका क्रममा बन्द भएको यो मन्दिर पछिल्लो दुई वर्षयता भने कोरोनाका कारण बन्द भएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।

दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ ।

विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ ।

विसं २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् । गत वर्ष नेवार समुदायले किजापूजाका रुपमा मनाउने भाइटीका तिथि घटबढका कारण भोलिपल्ट परेको थियो । यस वर्ष भने एकै दिन परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here