राजस्व संकलन दोब्बर गर्ने अर्थमन्त्रीको भनाइ, चीनतर्फ निर्यात खोल्नेमा मौन

सिन्धुपाल्चोक, २२ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि उनले विभिन्न चुनौतीकाबीच पनि राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको उनले बताएका हुन् । त्यसका लागि कडाइसमेत गरिएको उनको भनाइ छ ।

यद्यपि पछिल्लो समय बेमौसमी वर्षाका कारण अरबौँको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिए पनि राजस्व संकलन लक्ष्यअनुरूप हुने उनको विश्वास छ ।

राजस्व वृद्धिका लागि लगानी बढाउनुपर्ने भन्दै तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्ने अर्थमन्त्री शर्माको भनाइ छ । यद्यपि कोरोनाभाइरस महामारीपछि रोकिएको चीन तर्फको निर्यात खुलाउने बारेमा भने उनले कुनै टिप्पणी गरेनन् ।

मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउन सोअवसरमा निर्देशन दिए ।

उहाँले चीन सरकारले ठोस रूपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकास सहकार्यमा गर्नुपर्ने उनको भनाइ थियो ।

‘यहाँको पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्’, उनले भने, ‘उता चिनियाँ पक्षले कति गर्ने हो, त्यसको पनि मूल्याङ्कन गर्नुहोस् । त्यसरी दुई वटालाई जोडेर काम अगाडि बढाऔँ ।’

कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द रहेको छ । पछिल्लो समय दैनिक करीब एक दर्जन मालबाहक सवारी नेपाल भित्रिने गरेका छन् । नाकाबाट अधिकांश तयारी कपडा भित्रिने गरेको तातोपानी भन्सारले जानकारी दिएको छ । त्यस्तै स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, ओखरलगायतका मालवस्तु भित्रिने गरेका छन् ।

सोमबार नाका क्षेत्रको निरीक्षण तथा अवलोकनका लागि सभामुख अग्नीप्रसाद सापकोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, भन्सार विभागका महानिर्देशक नारायण सापकोटालगायत तातोपानी नाका पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here