रोजगारीका लागि तीन महिनामा एक लाखभन्दा बढी नेपाली विदेश पलायन

काठमाडौं, २३ कात्तिक । विश्वव्यापी रूपमै कोभिड-१९ नियन्त्रणउन्मुख भएपनि विश्व महामारीको चपेटामा गुज्रिरहेको छ ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका नेपाली श्रमिकहरु रोजगारीको क्षेत्र पुनः लयमा फर्किएसँगै बाहिरिने क्रम जारी छ ।

देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।

नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार तीन महिनामा नेपालबाट एक लाख एक हजार १३९ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्।

गत आर्थिक वर्ष भरीमा जम्मा एक लाख ६६ हजार नेपाली मात्रै वैदेशिक रोजगारीमा गएका थिए।

तथ्यांक अनुसार असारमा २० हजार, साउनमा २५ हजार, भदौमा ३६ हजार र असोजमा करिब ४० हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्।

विशेषगरि यो समयमा दुवई, कतार, बहराइन, कुवेत लगायतका देशमा बढी नेपाली गएका छन् ।