टी-२० विश्वकप: इङ्ग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं, २५ कात्तिक । इङ्ग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलोपटक टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ ।

सेमिफाइनल अन्तर्गत बुधबार भएको पहिलो खेलमा इङ्ग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। १६७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ६ बल बाँकी छँदा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

न्युजिल्यान्डको जितमा डेरिल मिचेलले अविजित रहदै सर्वाधिक ७३ रनको योगदान दिए । उनले ४७ बलमा समान ४ चौका र छक्का प्रहार गरे ।

डिभोन कोन्वेले ४६ र जेम्स निशमले २७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । इङ्ग्ल्यान्डका क्रिस वोक्स र लिम लिभिङस्टोनले समान २ तथा आदिल राशिदले १ विकेट हात पारे ।

सुरुवाती ब्याटिङमा उत्रिएको इङ्ग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ५१ रन बनाउँदा दाविद मलानले ४१ रन, जोस बट्लरले २९, लियम लिभिङस्टोनले १७ र जोन्नी बेयरस्टोले १३ रन जोडे।

बलिङतर्फ न्युजिल्यान्डका टिम साउदी, एडम मिल्न, इश सोदी र जिम्मी निशमले समान १/१ विकेट लिए। न्युजिल्यान्डले उपाधिका लागि अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here