एमालेको राष्ट्रिय महाधिवेशनको लोगो गैंडाको हातमा पार्टीको झण्डा

काठमाडौं । नेकपा (एमाले) ले १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले नयाँ लोगो सार्वजनिक गरेका हुन् ।

सूर्य चिन्हसँगै एकसिंगे गैंडाले कम्युनिस्ट पार्टीको झण्डा बोकिरहेको चित्र नयाँ लोगोमा छ ।

एमालेको सो राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरू सहभागी हुनेछन् ।

बन्दसत्रको टुङ्गो लागेको छ । सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो ।

होटलमा बन्दसत्रका लागि पर्याप्त हल नभएपछि होटल परिसरमा रहेको खुल्ला ठाउँमा डोम निर्माण गरी हलको व्यवस्था गर्न लागिएको छ ।

महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार होटलका हल र परिसरमा निर्माण गरिने डोमलाई महाधिवेशनमा आवश्यकताअनुसार प्रयोग गरिने छ ।

सो होटलमा एक हजार जना क्षमताको ठूलो एक र साना दुई वटा हलसमेत रहेका छन् । सौराहामा ठूला हल भएको होटलका रूपमा यसलाई चिनिन्छ ।

मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन सत्र गर्ने यसअघि नै निर्णय भएको छ । बन्दसत्र र नेतृत्व छनोटका काम सौराहाबाट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here