अनियमितताबारे नडराई भण्डाफोर गर्न पत्रकारलाई अर्थमन्त्रीको आग्रह

कात्तिक २७, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पत्रकारलार्ई अनियमितता बारे नडराई भण्डाफोर गर्न आग्रह गरेका छन् । उनले कुनै पार्टी वा नेताको मुख नहेरी भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन सुझाएका हुन् ।

पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधनमा मन्त्री शर्माले भने ‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस,’ ‘सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारहरुको काँधमा छ ।’
देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारले काम गरिरहेको उल्लेख उनले गरे ।

सो अवसरमा मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन आग्रह गरे ।

सरकारले पहिलो पटक अतिविपन्न परिवारलाई मासिक १० हजार राहत दिने, राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने, दीर्घरोगीहरुलाई मासिक ५ हजारका दरले उपचार खर्च दिने, घाइते तथा अपाङ्गता भएकाहरुको व्यवस्थापन, दलित आवसलगायतका लोकहितकारी निर्णय गरेको बताए ।

सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको तथा मन्त्री शर्माले कतिपय प्रदेशहरुमा आम संचार प्रतिष्ठान गठन सम्बन्धी विधेयहरु पत्रकारमैत्री नभएको गुनासो सुनिएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले पत्रकारहरुको क्षमता अभिवृृद्धि गर्न तालिम संचालन गर्नको लागि आवश्यक परे सरकारको तर्फबाट सहयोग हुने विश्वास दिलाए ।

उनले अनुसन्धानमुखी र खोजमूलक पत्रकारिताको विकास गर्नुपर्नेमा जोड दिए । यसैबिच नेकपा माओवादी केन्द्र कास्कीका अगुवा कार्यकर्ताहरुसँगको भेटघाटमा पार्टीका संगठन विभाग प्रमुख समेत नेता शर्माले सरकारले जनताको पक्ष्मा गरेका राम्रा कामहरुको प्रचार प्रसार गरी त्यसलाई संगठन विस्तारमा लगाउन निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here