नेप्सेको सीइओ बन्न ११ जनाको दाबेदारी, को-को छन् दौडमा ?

काठमाडौं, २९ कात्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि ११ जनाको आवेदन परेको छ ।

आवेदन दिने अन्तिम दिन आइतबारसम्म ११ जनाले अध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

अर्थ मन्त्रालयका अनुसार नेप्सेका निमित्त सीइओ निरञ्जन फुयाल, नेप्सेकै प्रवीण पन्दाक, रमेशकुमार भट्टराई रहेका छन् ।

त्यसैगरी, आवेदन दिनेमा रमेश धिमिरे, छविराज पन्त, गोविन्द दाहाल, केशवप्रसाद श्रेष्ठ, बद्रीप्रसाद प्याकुरेल, जीवन अमगाई, कृष्णबहादुर कार्की र दिपक गौतम छन् ।

अब आवेदकहरुमध्ये मन्त्रालयको सिफारिसमा एक जनालाई नेप्सेको सीइओ नियुक्त गरिने छ । नेप्सेको सीइओ राजनीतिक नियुक्ति मार्फत हुने भएकाले शक्ति र पैसाको समेत चलखेल हुने बताइन्छ ।

साथै, आवेदकहरुले कुनै न कुनै पार्टीको आर्शिवाद पाउने आशामा आवेदन दिएको बताइन्छ ।

सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको आरोपपछि नेप्सेका पूर्वसीईओ चन्द्रप्रकाश साउदले कार्यकाल सकिन एक महिनाअघि राजीनामा दिएका थिए ।

सीइओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा गठित सिफारिस समितिले १५ दिनको समय दिएर शिलबन्दी आवेदन आह्वान गरेको थियो ।

समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल सदस्य छन् ।

नेप्सेको सीइओ हुनको लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ मा तोकिए बमोजिम मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन, विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी वा चार्टर्ड एकाउन्टेन्ट उपाधि वा सो सरहको उपाधि हासिल गरी पूँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानून वा व्यवस्थापन क्षेत्रहरू मध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव हासिल गरेको हुनु पर्ने ब्यबस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here