निजगढ विमानस्थलमा लगानीकर्ता खोज्दै सरकार

काठमाडौं, ३० कात्तिक । दुई दशकभन्दा लामो समयदेखि चर्चामा मात्र सिमित बारामा निर्माण हुने निगगढ विमानस्थलका लागि सरकारले लगानी खोज्न थालेको छ ।

खासगरी अन्तर्राष्ट्रिय समुदायको प्रतिनिधित्व गर्ने भेटघाटका क्रममा मन्त्रीहरुले यो आयोजनाका लागि सम्भाब्य लगानीबारे कुराकानी शुरु गरेका हुन् । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालका लागि इजरायलका राजदूत हेनान गोदरसँग आयोजना तोकेरै लगानीको प्रस्ताव गरेका छन् ।

पर्यटन मन्त्रालयका अनुसार नेपाल सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाइ दिन उनले राजदूतसँग आग्रह गरेका छन् ।

उनले नेपाल सरकारले जीटूजीमार्फत समेत काम गर्न तयार रहेको भन्दै त्यसको समन्वय गरिदिन समेत आलेले राजदूत गोदरसँग आग्रह गरेका छन् । यस विषयमा राजदूत गोदरले आवश्यक समन्वय र पहल गर्ने आश्वासन समेत दिएको मन्त्रालयले जनाएको छ । यो आयोजनामा यसअघि जुरिचले चासो देखाएको थियो ।

तर, कोरोना महामारीको बाहनाका बीच सो कम्पनीले वेवास्ता गरेसँगै सरकारले पुनः लगानीकर्ता खोज्न थालेको हो । लगानी बोर्डले समेत आयोजनामा लगानी जुटाउन आवश्यक पहल गरिरहेको जनाएको छ ।

निजगढ विमानस्थल वातावरणीय मुद्दाका कारण पूर्वतायरीमै प्रवेश गर्न नसकेको आयोजना हो । पूर्वतयारी नसकिएका आयोजनामा विदेशी लगानीकर्ताले बढी जोखिम देख्ने भएकाले सम्भावनाका वावजुत समेत निजगढमा लगानीकर्ता फेला परेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here