अपर तामाकोशीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ३० कात्तिक । अपर तामाकोशी हाइड्रोपावरको शेयर मूल्यमा उछाल आएको छ ।

मंगलवार कारोबार खुले लगत्तै तामाकोसी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो ।

११:१३ बजेसम्ममा तामाकोशीको शेयर मूल्य १० प्रतिशले बढेर कारोबार भैरहेको छ । त्यसदिन कम्पनीको शेयर मूल्य ५८ रुपैयाँले बढेर प्रतिकित्ता ६४१ रुपैयाँ पुगेको छ ।

मंगलवार नै राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पहिलो पटक नाफामा गएको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको थियो ।

कम्पनीले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ८६ करोड १९ हजार ३७ रुपैयाँ खुद नाफा कमाएको छ ।

जबकी गत वर्षको सोही अवधिमा १ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । यस्तै, गत असार मसान्तसम्म कम्पनीको नोक्सानी ५ करोड २४ लाख रुपैयाँ थियो ।

कम्पनीले दोलखामा ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी संचालनमा ल्याइसकेको छ ।

तामाकोशीबाट उत्पादित बिजुली असार २१ गतेबाट राष्ट्रिय विद्युत प्रणालीमा जोडिएको थियो भने भदौ ४ गतेदेखि व्यावसायिक उत्पादन थालेको थियो । आयोजनामा जडित ७६/७६ मेगावटका ६ यूनिटहरु रहेका छन् ।

समीक्षा अवधिमा कम्पनीले विद्युत् विक्रीबाट १ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ । अन्य आम्दानी बापत ६७ हजार ८८४ रुपैयाँ आम्दानी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here