तीन महिनामा टेलिकमको आम्दानी करिब ११ अर्ब, खुद नाफा ४९ प्रतिशतले वृद्धि

काठमाडौं, ३० कात्तिक । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले चालू आर्थिक वर्षको तीन महिनामा खुद नाफामा उल्लेख्य सुधार गरेको छ ।

टेलिकमले चालु आर्थिक वर्षको ३ महिनामा १० अर्ब ९५ करोड २३ लाख ४६ हजार कुल आम्दानी गरेको हो ।

टेलिकमले मंगलबार सार्वजनिक गरेको वित्तिय विवरण अनुसार गत आवको पहिलो त्रैमासिकको भन्दा चालु आवको पहिलो त्रैमासमा कुल आय ८.३९ प्रतिशत अर्थात ८४ करोड ७८ लाख ७१ हजारले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको साउन, भदौ र असोजमा १ अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा भएकोमा चालू वर्षमा ७४ करोड २१ लाख रुपैयाँले वृद्धि भएको हो ।

त्यस्तै, सञ्चालन आय ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

टेलिकमको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा यो १३ प्रतिशतको वृद्धिदर हो । गत वर्ष ३ महिनामा ८ अर्ब ६३ करोड ५३ लाख रुपैयाँ यस्तो आय रहेकोमा चालू वर्षमा करिब १ अर्ब १४ करोड रुपैयाँले बढेको छ ।

टेलिकमको कुल आय ८ प्रतिशले बढेर १० अर्ब ९५ करोड २३ लाख ४६ हजार पुगेको छ भने खुद मुनाफा २ अर्ब २६ करोड पुगेको छ ।

टेलिकमका अनुसार टुजी, थ्रीजी र फोरजी विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि भइ मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि भएपछि आम्दानी बढेको हो ।

साथै कम्पनीको एफटीटीएच सेवा प्रति ग्राहकको आकर्षणमा वृद्धि भई एफटीटीएच मार्फत बितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपीटिभी सेवाका ग्राहकहरु वृद्धि हुन गई फिक्स्ड नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको टेलिकमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here