राजस्व संकलन लक्ष्यभन्दा कम, विनियोजन रकम ११ खर्ब ९६ अर्ब खर्च

काठमाडौं, ३० कात्तिक । आर्थिक वर्ष २०७७/७८ मा सरकारको राजस्व संकलन ८२.८१ प्रतिशत भएको छ ।

मंगलवार महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेश गरेको आर्थिक वर्ष २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।

कुल राजस्वमध्ये करतर्फ रु ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख र अन्य कर राजस्व रकम रु.१ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख गरी कुल रु. १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा कुल रु. ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख राजस्व संकलन भएको हो ।

प्रतिवेदनका अनुसार कुल विनियोजन रकम रु १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाखको ८१ दशमलव १५ प्रतिशत रकम अर्थात ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख खर्च भएको छ ।

यस्तै आर्थिक वर्ष २०७७/७८ को कुल खर्चमा नेपाल सरकारको श्रोतबाट ८२.३२ प्रतिशत तथा कुल खर्चको १७ दशमलव ६८ प्रतिशत बैदेशिक स्रोतबाट व्यहोरिएको छ ।

उक्त बैदेशिक स्रोतमा अनुदानको हिस्सा ३ दशमलव ४ प्रतिशत र ऋणको हिस्सा १४ दशमलव ६४ प्रतिशत रहेको छ ।

आ.व.२०७७/७८ मा संघीय सरकारको संचीत कोषमा रु. १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख प्राप्ति र खर्च रु ११ खर्ब ६० अर्ब ३३ करोड ३३ लाख भुक्तानी भई चालु आ.व. कोष अवस्था रु. १ खर्ब ७ अर्ब १६ करोड ५४ लाखले धनात्मक रहेको छ ।

प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री शर्माले प्रणालीगत सुधार गरी राजश्व संकलन र बेरुजु फछ्यौटमा देखिएका समस्या समाधान गर्नतर्फ सरकारको ध्यान गएको बताए ।

उनले विकास खर्च बढाउन संस्थागत सुदृढीकरणको साथै ऐन कानुनमा परिमार्जन गर्ने र दृढ इच्छाशक्तिका साथ काम गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच महालेखा नियन्त्रक सुमनराज अर्यालले आ.व. २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन मन्त्रीसमक्ष पेश गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here