बैंक तथा वित्तीय संस्थालाई सम्झौता गर्न आउन राष्ट्र बैंकको आग्रह

काठमाडौं, १ मंसिर । नेपाल राष्ट्र बैंकले ‘क’,’ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सम्झौता गर्न आउन आग्रह गरेको छ ।

बुधवार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई सम्झौता गर्न आउन आग्रह गरेको हो ।

सूचनामा भनिएको छ- ‘हालै लागू गरिएको ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७८’ को विनियम १२ र विनियम २१ मा भएको व्यवस्था अनुसार राष्ट्र बैंकबाट सञ्चालन गरिने खुला बजार कारोबार तथा ब्याजदर कोरिडोर अन्तर्गतका रिपो, रिभर्स रिपो एवम् ओभरनाईट रिपोमा सहभागी हुने बैंक तथा वित्तीय संस्थालाई सम्झौता गर्न आउन आग्रह छ ।

राष्ट्र बैंकसँग माष्टर रिपर्चेज एग्रीमेण्ट गर्नुपर्ने (यस अघि सम्झौता गरिसकेका संस्थाले समेत पुनः गर्नुपर्ने) तथा स्थायी तरलता सुविधा उपयोग गर्न चाहने बैंक तथा वित्तीय संस्थाले यस बैंकसँग सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गर्नुपर्ने भएकाले बैंकले ‘क’,’ख’ र ‘ग’वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गर्दछौं ।