एक खेल अगाडि नै जित्यो नेपालले कतारविरुद्ध टी–२० शृंखला

काठमाडौं, १ मंसिर । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्ध टी–२० सिरिज जितेको छ।

बुधबार सम्पन्न दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै नेपालले सिरिज २–० ले जितेको हो।

यससँगै नेपालले नयाँ इतिहास रचेको छ। नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतारले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्र बनाउन सक्यो।

उसका लागि कप्तान आयशाले २४ र केरी पाउनसेटले १५ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा समेत रन बटुल्न सकेनन्।

नेपालका लागि सरस्वती कुमारीले उत्कृष्ट बलिङ गरिन्। उनले ४ ओभरमा मात्र ८ रन खर्चिएर ४ विकेट लिइन्। यसक्रममा उनले एक ओभर मेडनसमेत राखिन्।

यस्तै, कप्तान रुविना क्षत्रीले २ तथा सबनम राई, कविता जोशी र संगीता राईले १र१ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो।

नेपालका लागि रुबिनाले ४८ बलमा चार चौका र एक छक्का मद्दतमा ५० रन जोडिन्। त्यस्तै ओपनर कविता कुँवरले ३१ रन र अप्सरी बेगमले अविजित २३ रन बनाइन्।

कतारकी एन्जेली मरेले दुई विकेट लिइन् भने अलिना खान र साबिजा पनायनले समान एक विकेट लिए।

आइसिसी महिला टी ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा लागि नेपाली टोलीले कतार भ्रमणमा निस्किएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here