रामदेवको उपस्थितिमा पर्यटन मन्त्रालयले पशुपतिमा योग ध्यान सिकाउने, प्रवेश नि:शुल्क

काठमाडौं, ४ मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु रामदेवले आइतवार पशुपतिनाथमा योग ध्यान सिकाउने भएका छन् ।

पर्यटन मन्त्रालयको आयोजनामा पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा हुने योग शिविरमा विभागिय मन्त्री प्रेमबहादुर आले पनि सहभागी हुने भएका छन् । योग शिविरमा पतञ्जली योगपिठका आचार्य बालकृष्ण पनि सहभागी हुने छन् ।

योग शिविरकै दिन मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई पशुपतिनाथको दर्शन गराउने र मन्त्रालयका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको सहसचिव डा टोकराज पाण्डेयले बताए ।

उनले भने, ‘स्वामी रामदेव तथा आचार्य बालकृष्णको समुपस्थितिमा हामीले आइतबार योग शिविरको आयोजना गरेका छौँ, योग गर्ने बानीको विकास गर्नु हाम्रो प्रमुख लक्ष्य हो ।’

मन्त्रालयले आयोजना गर्न लागेको उक्त योग शिविरबाट नेपालीको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा लिइएको छ ।

उक्त योग शिविरमा सर्वसाधारणका लागि निःशुल्करूपमा प्रवेशको व्यवस्था मिलाइएको जनाइएको छ । शिविरमा दशौँ हजार सर्वसाधारणको सहभागिता हुने मन्त्रालयको अपेक्षा छ ।

योग शिविरपश्चात योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

योगगुरु रामदेवले शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा प्रशिक्षण गराएका थिए । योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here