‘निजी क्षेत्र र सरकारबीच आपसी सम्बन्ध आर्थिक विकास समृद्धिका लागि अनिवार्य’

काठमाडौं, ८ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्र र सरकारबीच आपसी सम्बन्ध आर्थिक विकास समृद्धिका लागि अनिवार्य रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थचित्र’ विमोचन तथा आर्थिक पत्रकार सम्मान कार्यक्रममामा मन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।

निजी क्षेत्रले अब पूर्वाधारको क्षेत्रमा लगानी गर्न पनि ध्यान दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले भने, ‘पूर्वाधार क्षेत्रमा सरकारले मात्रै गर्नु पर्छ भन्ने छैन । अब निजी क्षेत्रले पूर्वाधारका क्षेत्रमा समेत लगानी गर्न ध्यान दिनुपर्ने हुन्छ ।’

निजी क्षेत्रको नेतृत्वले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुगिरहेको समेत उनले बताए । अर्थमन्त्री शर्माले भने, ‘अघिल्ला वर्षको तुलनामा अहिलेको हाम्रो अर्थतन्त्रले चालू खर्चलाई नै तान्न गाह्रो भइरहेको अवस्था छ ।

जस कारण पुँजीगत खर्च गरेर पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा रोजगार लगायत क्षेत्रमा लगानी गर्न सरकार समस्याग्रस्त छ । यस्तो अवस्थामा निजी क्षेत्रको नेतृत्वमा आर्थिक विकासको योगदान रहँदै आएको छ ।’

निजी क्षेत्र र सरकारबिचको आपसी सम्बन्ध आर्थिक विकास समृद्धिका लागि अनिवार्य रहेको उनले बताए ।

साथै उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि र लगानीलाई परिणाममुखी बनाउनका लागि सरकारको तर्फबाट विभिन्न खालका सहुलियतहरू दिनु पर्ने आवश्यकता रहेको समेत बताए ।

उनले भने, ‘निजी क्षेत्रमा केही राहतका कार्यक्रम भए पनि मागेजस्तो नभएको भन्ने धेरै गुनासो छ । त्यस्तै शर्माले नेपालमा स्रोत साधनको समस्या नभएको जानाकारी दिए ।

उनले भने, ‘हामीसँग साधन स्रोतको समस्या होइन । हामीसँग पुँजीको पनि त्यति समस्या होइन । हामीसँग श्रमको समस्या होइन ।

हामीसँग व्यापारको पनि समस्या होइन । हामीसँग व्यवस्थापनको मात्र समस्या छ । व्यवस्थापन गर्ने कलामा हाम्रो समस्या छ ।’ जसका कारण नेपालले व्यवस्थापकीय क्षमतामा विकास गर्नुपर्ने देखिएको उनले प्रस्ट्याए ।

साथै उनले हामीसँग भएको साधन स्रोतको व्यवस्थापन मात्र गर्न सकियो भने यो नै पर्याप्त हुने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here