काठमाडौं, १० मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसदमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।
नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले भने, ‘नेपालको संविधान र लोकतन्त्र सबै मिलेर ल्याएका छौँ।
त्यसको कार्यान्वयन गर्न सब दलको भूमिका रहन्छ।’ नयाँ संविधानलाई संस्थागत गर्नको लागि नेकपा एमालेलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे।
संविधानले निर्धारण गरेको विधिलाई सबैले स्वीकार्नुपर्ने बताए । उनले कांग्रेस एमालेमा वैचारिक भिन्नता भएकैले अलग–अलग पार्टी रहेको भन्दै जनताका सवाल, राष्ट्रियता र राष्ट्रहितका विषयमा भने सहमति र सहकार्य हुनुपर्ने बताए ।
यस्तै उद्घाटन सत्रलाई शुभकामना दिँदै देउवाले लोकतन्त्र स्थापनाका लागि ओलीसहित धेरै वामपन्थी नेताहरूसँगै आफू पनि जेल बसेको स्मरण गरे ।
‘केपी ओलीजी लगायत धेरै वामपन्थी साथीहरू र हामी सँगै जेलमा थियौं । हामी जेलमेट पनि हौं । हामीले सँगै दुःख भोगेका हौं । हिजोका दिनमा हामीले भोगेका दुःख सम्झेर भोलिका दिनमा कुनै नेपालीले दुःख नपाउन् भन्नेमा हामी केन्द्रित हुनुपर्छ’, देउवाले भने ।
संसदभित्र र बाहिरका सबै दलहरूसँग छलफल गरेर अघि बढ्न तयार रहेको बताए। यस्तै, नागरिकको रक्षा नै पहिलो प्राथमिकता भएकाले कोरोनाको खोप सबैलाई लगाइरहेको बताए।

























