रुकुम । अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताएका छन् ।
शनिवार रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, बाँफिकोट र आठविसकोटमा आयोजित विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै उनले विकास आयोजनास्थलका स्थानीय जनताको सहयोगको आवश्यकता औंल्याएका हुन ।
‘आयोजनास्थलका जनताको सहयोग, सहभागिता र योगदान विना सरकारले मात्र विकास गर्न सक्दैन,’ मन्त्री शर्माले भने, ‘विकासको लागि स्थानीयहरु सक्रिय हुनुपर्छ । सरकारले त्यसमा सहयोग गर्ने मात्र हो ।’
कुनै पनि विकास आयोजनाका लागि सरकारले जग्गा अधिग्रहण गर्न लाग्दा स्थानीयले अचाक्ली भाउ बढाउने गरेको प्रति असन्तुष्टि प्रकट गर्दै उनले उद्योग बाणिज्य संघ चौरजहारीका प्रतिनिधिहरुसँग भने, ‘कुनै आयोजना निर्माण गर्न थाल्यो कि जग्गाको भाउ चर्काइन्छ, सरकारले किन्न नसक्ने गरी मूल्य तोकिन्छ ।
अनि कसरी गर्ने विकास ?’ चौरजहारीमा विमानस्थलको स्तरोन्ती र भेरी नदीमा जलविद्युत बनाउने योजना सुनाउँदै उनले जग्गाको भाउ नमिलाएसम्म ती काम गर्न संभव नहुने बताए ।
मन्त्री शर्माले शनिवार उनकै पहलमा चौरजहारी अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टद र सानीभेरी गाँउपालिकामा सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरे । यस्तै शनिवार नै उनले आठविसकोटमा स्थापना गरिएको १५ शैयाको नगर अस्पताल भवन उद्घाटन गरे ।
नेकपा माओवादी केन्द्रको बाँफिकोट र आठविसकोट दोस्रो नगर सम्मेलनको अवसरमा आयोजित जनसभाहरुलाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख समेत रहेका मन्त्री शर्माले रुकुम जिल्लालाई समाजवादको आधार बनाउने प्रतिवद्धता दोहो¥याए ।
अबको पाँचदेखि सात वर्षभित्र रुकुमलाई गरिबीमुक्त जिल्लाको रुपमा विकास गरेर समाजवादको आधार तयार पार्ने योजना रहेको उनले जानकारी गराए ।
‘अबको पाँच–सात वर्षभित्र रुकुममा कोही पनि गरिब र बेरोजगार भेटिने छैन । यसबाट जिल्लामा समाजवादको आधार तयार हुनेछ,’ उनले भने, ‘विकास निर्माणको काम पनि अब गुणस्तरीय विकासको अवधारणामा अघि बढाइनेछ ।’