१३ हजार अस्पष्ट ‘स्मार्ट लाईसेन्स’ फेरि छापिँदै, अझै ९ लाख वितरण गर्न बाँकी

काठमाडौं, १५ असार । निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झण्डै १३ हजार कार्ड पुनः छपाइ गर्न थालेको छ ।

निजी कम्पनीले रङ्गीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाइ शुरु भएको हो ।

निजी कम्पनीले झण्डै तीन लाख रङ्गीन कार्ड छापिएकामा १३ हजार कार्ड अस्पष्ट रहेको विभागका प्रवक्ता तीर्थराज खनालले बताए ।

उनका अनुसार यी कार्डमध्ये कुनैमा फोटो त कुनैमा नाम, रक्त समूह, ठेगानालगायतका विवरण स्पस्ट थिएनन् । तीमध्ये अधिकांश कार्ड सेवाग्राहीलाई वितरण भइसकेको छ ।

वितरण भएका कार्ड पुनः छपाइको माग गर्दै निवेदन आइरहेको उनले बताए ।

चार वर्ष पहिलेदेखि हस्तलिखित कार्डका सट्टा ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु भएपछि विभाग आफैँले छपाइ गर्दा श्यामस्वेत कार्ड छापिरहेको उनले बताए । ती कार्डमा स्पष्ट नभएको भन्ने गुनासो छैन ।

उनले भने, ‘कार्डका विवरण नबुझिएको भन्ने गुनासो रङ्गीन कार्डमा मात्रै छ ।’

अहिले विभाग आफैँले ‘स्मार्ट’ चालक अनुमतिपत्र श्यामश्वेत छपाइ गरिरहेको प्रवक्ता खनालले बताए ।

पछिल्लो समयमा छपाइ भएका कार्डमा समस्या रहेको छैन । रङ्गीन कार्ड नबुझिने हुँदा पुनः छपाइ गर्नु परेको र सेवाग्राहीले राजस्व तिर्नुपर्नेमा त्यो अहिले हटाइएको उनको भनाई छ ।

उनले भने, ‘हाम्रै गल्तीले गर्दा पुनः छपाइमा सेवाग्राहीसँग राजस्व लिनु हुँदैन भनेर हटाइएको छ ।’

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि उपकरण अपर्याप्त भएपछि विभागले साढे नौ लाखभन्दा बढी कार्ड वितरण गर्न बाँकी छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here