विकासका लागि परम्परागत नीति–नियमहरुलाई समयानुसार परिवर्तन गर्न ढकालको सुझाव

काठमाडौं, २२ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको द्रुत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति–नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधबार काठमाडौंमा आयोजित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीति–नियमहरुलाई परिवर्तन गर्दै जाँदा आम जनतालाई लाभ पुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष्य पनि हासिल हुने बताए।

‘यो अटोमोबाइल सेक्टरको मात्र होइन। समग्र निजी क्षेत्रका सुझावहरुलाई लिएर सरोकारवाला पक्षहरुसँग छलफल गरी पुराना नीति–नियमहरु परिवर्तन गर्दै जाँदा सबै पक्षलाई फाइदा हुन्छ’, उनले भने, ‘यसका लागि राज्यले अग्रसरता लिनुपर्छ।’

वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ विशेष पहल गर्नुपर्ने बताए। ‘अहिले मुलुकभित्र दुईपांग्रे सवारीसाधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन्। यसको विस्तारसँगै चारपांग्रे सवारीसाधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढावा दिनुपर्ने हुन्छ’, उनले भने।

बिजुली भारतमा निर्यात सुरु भएको बताउँदै ढकालले औद्योगिक क्षेत्रलाई सस्तोमा बिजुली उपलब्ध गराउन सके उत्पादनमुलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताए। उनले सार्वजनिक सवारीलाई चुस्त बनाउनेतर्फ सरकार र स्थानीय निकायको ध्यानाकर्षण गरे।

सवारीसाधन विलासिताको वस्तुमात्र नरहेको उल्लेख गर्दै ढकालले यस क्षेत्रले वार्षिक एक खर्बभन्दा बढी राजश्व दिएको जुन सार्वजनिक खर्चका लागि महत्वपूर्ण भएको बताए। उनले कोभिड–१९ को महामारीबीच पनि मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएकोसमेत बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here