महिला उद्यमीलाई ७६ अर्ब २८ करोड ऋण प्रवाह

काठमाडौंं, २३ मंसिर । स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ७३ हजार नाघेको छ ।

राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७३ हजार ७८ जना महिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण उक्त लिएका छन् ।

ती महिलाका लागि बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब २८ करोड ३७ लाख ९३ हजार रुपैयाँ लगानी भएको छ । सरकारले ब्याज अनुदान दिने १० प्रकारका कर्जामध्ये सबैभन्दा धेरै ऋण लिने महिला उद्यमी नै छन् ।

यो कर्जा लिन महिलाका नाममा उद्योग व्यवसाय सञ्चालन भएको हुनुपर्छ । यस्तो कर्जामा माहिलाले सरकारबाट ६ प्रतिशत ब्याज अनुदान पाउँछन ।

कुनै बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याजदर तय गरे ६ प्रतिशत ब्याजदर सरकारबाट अनुदान पाइन्छ ।

बाँकी ४ प्रतिशत मात्र महिला उद्यमीले तिर्नुपर्छ । यो शीर्षकअन्तर्गत महिलाले बढीमा १५ लाख रुपैयाँसम्म ऋण लिन पाउँछन ।

कुन-कुन शीर्षकमा पाइन्छ सहुलियत कर्जा ?

सरकारले ब्याज अनुदान सहित विभिन्न १० शीर्षकका व्यवसाय गर्नलाई सहुलियत कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवासा निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ ।

गत वर्ष राष्ट्र बैंकले कार्यविधि संशोधन गर्दौ कपडा उद्योग संचालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here