काग्रेस महाधिवेशन: यसरी हुँदैछ उपत्यकामा ट्राफिक व्यवस्थापन

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रवारदेखि काठमाडौंमा शुरू हुँदैछ ।

शुक्रवार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटन समारोहलाई कांग्रेस पदाधिकारी तथा प्रमुख दलका नेताहरूले सम्बोधन गर्नेछन् ।

नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्थाको साथ महाधिवेशन क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । कांग्रेसले उद्घाटनअघि जुलुस ननिकाल्ने निर्णय गरेको हुनाले सवारी जाम तुलनात्मक रुपमा कम हुने ट्राफिक प्रहरी महाशाखाको दाबी छ ।

तर, दिउँसो महाधिवेशन उद्घाटनको समयमा प्रदर्शनीमार्ग, टुँडीखेल, सुन्धारा, पुतलीसडक र माइतीघरमा सवारी जाम हुने महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाका एसपी सञ्जिव शर्माले उपस्थिति र सवारीको चाप हेरेर आवश्यकतानुसार सवारी रुटको डाइभर्सन हुने क्लाउड पत्रिकालाई बताए ।

टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा भने त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलङ्की, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको छ उनले भने ।

शर्माको अनुसार झण्डावाला, पार्टी अध्यक्षहरू र विदेशी पर्यवेक्षकका सवारी साधनका लागि भृकुटीमण्डपको सभाहल पछाडि पार्किङको व्यवस्था मिलाइएको छ। अन्य भिआइपीका सवारी साधन राष्ट्रिय सभागृहमा राखिने छन्।

महाधिवेशन प्रतिनिधिका सवारी साधन खुलामञ्चमा र वैकल्पिक पार्किङका रूपमा विश्वभाषा क्याम्पसलगायत आसपासका खुला क्षेत्र तोकिएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here