तनहुँ जलविद्युतको निर्माण कम्पनी छनोट, मेलम्ची र कुलेखानीका ठेकेदारलाई निर्माणको जिम्मा

क्लाउडपत्रिका
काठमाडौं, १२ साउन । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनीहरु छनोट गरेको छ ।

आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसी छनोट भएको छ । यो मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गर्ने कम्पनी हो । सीएमसीसँग रु.२० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता हुने कम्पनीले बनाएको छ ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ । कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर तथा रु ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिबृद्धि कर बाहेक)मा खरिद सम्झौता हुने छ ।

तनहुँ हाइड्रोपावर लिमिटेडले गत ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरिसकेको छ । दुवै कम्पनीले ८ साउनमा पत्र बुझिसकेका छन् ।

पत्र बुझेको २८ दिनभित्र कम्पनीहरुले कार्यसम्पादन जमानत सहित खरिद सम्झौताका लागि आउनु पर्ने तनहुँ हाइड्रो पावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदिप कुमार थिकेले बताए । ‘खरिद सम्झौता भएको दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ,’ उनले भने ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि २८ असारमा बोलपत्र आह्वान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।

आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले १५० मिलियन डलर, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८४ मिलियन डलर, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी)ले ८५ मिलियन डलर र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८७ मिलियन डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here