प्रधानमन्त्रीलाई नै ढाँट्छन् सरकारी निकाय

१७ असार, काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको गत ६ असारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी संयन्त्रप्रति तितो पोखे ।

मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आफूलाई गलत बिफ्रिङ भएको प्रति प्रधानमन्त्रीको असन्तुष्टी देखिन्थ्यो । ठिक त्यस्तै असन्तुष्टी सोमबार नेपाल वायुसेवा निगमको ६१ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पनि देखियो ।

प्रधानमन्त्री ओलीलाई भैरहवामा निर्माणाधिन गौतमबुद्ध विमानस्थल असारमै संचालनमा आउने गरी बिफ्रिङ गरिएको रहेछ ।

उनले कार्यक्रममा त्यो खुलासा गरे । “आइहाल्यो, सक्किहाल्यो भनेर मलाई बिफ्रिङ हुन्छ”, उनले भने, “अब त बनिसक्यो होला भन्यो, बनेकै हुँदैन ।”

यो आयोजना असारमै सकिने र अन्तरराष्ट्रिय उडान हुने प्रचार नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको थियो । तर, आयोजनाको काम नसकिएपछि त्यो एक वर्ष पछाडी धकेलिदै छ ।

आयोजना पछाडी धकेल्न लगानीकर्ता एसियाली विकास बैंक नै सहमत भएपछि प्राधिकरणलाई अझ सजिलो भएको छ ।

त्यसो त चिनी आयात रोक्ने र मूल्य निर्धारण गर्ने सम्बन्धमा पनि आफूलाई गलत बिफ्रिङ भएको गुनासो प्रधानमन्त्रीले गरेका थिए ।

एक कार्यकारी प्रमुख माथि नै सरकारी निकायले किन ढाँटिरहेका छन् ? प्रधानमन्त्री स्वयमः अचम्म पर्छन् । सोमबार आयोजित कार्यक्रममा उनले प्रश्न गरे, “किन सही तथ्य मलाई भन्नु हुन्न ? किन झुटो विवरण ल्याउनु हुन्छ ?”

प्रधानमन्त्रीको यस आक्रोसमा कतै न कतै सरकारी संयन्त्रबाट सरकारलाई असहयोग पो भइरहेको छ कि भन्ने संकेत गर्छ ।

सरकारी संयन्त्रले दिने सूचनाकै आधारमा आफूले बाहिर बोल्ने र त्यसका आधारमा जनताले पनि धारणा बनाउने भन्दै सही र तथ्यपूर्ण जानकारी दिन उनले आग्रह गरे ।

यसबाट पनि आजसम्म प्रधानमन्त्रीका मुखबाट बोलिएका शब्दहरु अरुकै सूचनाका आधारमा बोलिएका हुन् कि भन्न अनुमान गर्न सकिन्छ ।

किनकी प्रधानमन्त्री कतिपय पुरा हुनै नसक्ने र क्षमताले धान्न नसक्ने आयोजना परियोजनाको आश्वासन देखाएका कारण जनताबीच अलोकप्रिय बन्दै गएका छन् ।
कर्मचारीको कार्यशैली र प्रस्तुतिमा राजनीतिक दलले विश्वास नगर्ने स्थान पनि छैन । किनकी राजनीतिज्ञहरु आफू विषयवस्तुमा जानकार छैनन् ।

त्यसकारण पनि कर्मचारीको हरेक विफ्रङ आँखा चिम्लेर विश्वास गर्नुको विकल्प छैन । विषयवस्तुमा जानकारी हुँदा प्रतिप्रश्न गरेर पनि स्पष्ट हुन सकिन्छ । यस्तो कमजोरीको शिकार कतै स्वयमः प्रधानमन्त्री त बनिरहेका छैनन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here