चार्ल्स शोभराजलाई थुना राखेकोबारे सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं ८ पुस । सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले कारण देखाऊ आदेश दिएको हो। शोभराजको मागअनुसार, किन आदेश नगर्ने भन्दै सर्वोच्चले सरकारलाई कारण पेश गर्न आदेश दिएको छ।

उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन् । उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग शोभराजको छ ।

सिरियल किलरको उपाधि पाएका शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।

उनी अहिले ७७ वर्षका भए। उनलाई दुई विदेशी नागरिकको हत्यामा संलग्न रहेको अभियोगमा जन्मकैदको सजाय सुनाइएको छ।

कारागार नियमावली, २०२० मा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था छ।

त्यहि व्यवस्थालाई टेकेर उनले थुनामुक्त गर्न आदेश माग गरेका हुन्। कारागारभित्र आफ्नो असल चालचलन रहेकाले त्यो सुविधा पाउनु पर्ने माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here